काठमाडौं- सिद्धिचरण लोकमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्ड ७२ किलोमिटरको स्तरोन्नतीका लागि सरोकारवालाहरुको टोली मन्त्रालयमा डेलिगेसन दिन पुगेका छन्। डेलिगेसन गएको टोलीले सोमबार भौतिक योजना तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गलाई ज्ञापन पत्र बुझाएको छ।
उदयपुर, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाहरुका जनताको दैनिक आपूर्तिसँग जोडिएको सडकको स्तरोन्नती गर्नका लागि मन्त्री नेम्वाङ्ग समक्ष माग गरिएको उदयपुर संघीय सांसद सुरेश कुमार राईले बताए।
मिरचैया -कटारी- घुर्मी सडक खण्डमा हजारौं साना तथा ठुला उच्च भारवहन क्षमता भएका ट्रिपर र अन्य सवारी साधन दैनिक आवत जावत गर्ने भएकाले भत्किएर जीर्ण बनेको सडकमा दैनिक सानाठूला दुर्घटना भइरहने गरेको छ भने मानवीय क्षति समेत ब्यहोर्नु परिरहेको ज्ञापन पत्रमा उल्लेख छ।
त्यसैगरी अर्थमन्त्री युवराज खतिवडालाई पनि टोलीले सडक खण्ड स्तरोन्नतीको लागि माग गरेको छ। मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने बताएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव जमान सिंह बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।