नेपालगञ्ज– दशैंको चहलपहल सुरु भएसँगै नेपालगञ्ज नाका हुँदै भारतबाट खसी–बोका ल्याउने क्रम बढेको छ।
दशैंमा राजधानीमा ठूलो परिमाणमा खसी–बोकाको माग हुने भएकाले भारतबाट खसी–बोका आयात गरी राजधानी पठाइने गरेको व्यवसायीहरुले बताएका छन् । नेपालगञ्ज नाकाबाट अहिले सातामा ३ देखि ४ हजारसम्म खसी–बोका भित्रिरहेका छन्।
नेपालमा भन्दा भारतमा खसी–बोकाको मूल्य केही सस्तो हुने भएकाले व्यवसायीहरुले आयात गर्ने गरेका छन्।
पछिल्ला वर्षहरुमा भने नेपालमा खसी–बोकाको उत्पादनमा केही वृद्धि भएकाले भारतबाट खसी–बोका भित्र्याइने क्रम केही घटेको व्यवसायीहरुले बताएका छन् । गत वर्षको तुलनामा यो वर्ष भारतबाट आयात हुने खसी–बोकाको परिमाण ४० प्रतिशतले घटेको पशु क्वारेन्टाइन चेकपोस्ट नेपालगञ्जले जनाएको छ ।
पछिल्लो समय नेपालगञ्ज नाकाको तुलनामा व्यवसायीहरुले कपिलवस्तुको कृष्णनगर नाकाबाट खसी–बोकाको आयात गर्ने गरेका छन् । तराईका जिल्लाहरुलाई राजधानीसँग जोड्ने नारायणगढ–मुग्लिन सडकखण्ड बारम्बार अवरुद्ध हुने गरेकाले नेपालगञ्ज नाका प्रयोग गर्ने क्रममा कमी आएको व्यवसायीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।