काठमाडौं- पशु आहारा (फिड सप्लिमेन्ट) र पशु औषधीको आयातमा क्वारेन्टाइन गर्न नहुने भन्दै नेपाल पोल्ट्री महासंघले संघीय संसदअन्तर्गतको प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निवेदन दिएको छ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार पशु औषधी तथा फिड सप्लिमेन्टलाई पशु सामाग्रीभित्र राखिएको तर पशु सेवा विभागले भन्सार विभागलाई यस्ता सामाग्री पनि पशु सामाग्रीभित्रै पर्ने भन्दै तिनीहरुको पनि क्वारेन्टाइन गर्ने गरेकोे भन्दै त्यस्तो व्यवस्था खारेज गरिपाऊँ भन्दै समितिलाई निवेदन दिएको हो।
यी सामाग्रीहरु पशु सामाग्रीभित्र नपर्ने भएपनि पशु सामाग्रीसरह नै क्वारेन्टाइन चेकजाँच हुने गरेका कारण उद्योगी व्यवसायी र पैठारीकर्ताले झन्झट व्यहोर्नुपरेको उनीहरुले दायर गरेको निवेदनमा उल्लेख छ।
सोहि विषयमा समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग जवाफ मागेकोमा मन्त्रालयले भने यस्ता वस्तु पनि पशु सामाग्रीभित्रै पर्ने भन्दै भन्सारमा क्वारेन्टाइन चेकजाँच गर्ने गरिएको जनाएको छ।
‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ र सो को नियमावली २०५६ मा ‘पशु उत्पादन सामाग्री भन्नाले पशु स्वास्थ्यमा, कृतिमा गर्भाधानमा वा जैविक पदार्थ उत्पादनमा उपयोग हुने प्रशोधित वा अप्रशोधित सामाग्री सम्झनु पर्दछ‚’ भनी परिभाषित गरिएकाले त्यस्ता सामाग्रीमा क्यारेन्टाइन चेकजाँच गर्ने गरिएको जवाफ समितिलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।