काठमाडौं- नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले युनियनका अध्यक्ष बद्री सिग्देलका कारण युनियनको महाधिवेशन गर्न नसकिएको प्रष्ट्याएका छन्।
महासचिव शिवाकोटीले आइतबार विज्ञप्तिमार्फत केन्द्रीय समितिका बहुसंख्यक सदस्यले केन्द्रीय समितिको बैठक बोलाउन पटक पटक गरेको लिखित तथा मौखिक आग्रहलाई सिग्देलले टारेको उल्लेख गरेका छन्।
मंसिर २८ र २९ का लागि नवौं महाधिवेशनको मिति तोकिएको थियो। पूर्वनिर्धारित समयमा महाधिवेशन नहुने देखिएपछि उनले विज्ञप्ति निकालेर अध्यक्षको कार्यक्षमता माथि प्रश्न उठाएका हुन्।
‘महाधिवेशनमा जान गरिएको आग्रहलाई समेत अध्यक्षबाट नजरअन्दाज गरी फेरि महाधिवेशनलाई अनिश्चित बनाउने काम भएको छ‚’ शिवाकोटीले भने,‘२०७५ साउन १० गते केन्द्रीय समितिको बैठक बसेपछि त्यसयता बस्न सकेको छैन।’
तोकिएको समयमा नसक्ने परिस्थिति हुँदा समेत केन्द्रीय समिति बैठक बोलाउन अध्यक्षको तत्परता नहुनुलाई अध्यक्षको पदप्रतिको मोह भएको आरोप लगाए।
तीनवर्षे कार्यकाल रहेको सिग्देलको कार्यसमिति विसं २०७४ को भदौमा सकिएको थियो। सिग्देल नेतृत्वको कार्यसमितिले नियमित महाधिवेशन गर्न नसकेकाले ६ वर्षसम्म लम्बिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।