काठमाडौ- जिल्ला अदालत काठमाडौले आफूहरू पत्रकार भएको दावी गर्ने दुई जनालाई वन्यजन्तुको तस्करी गरेको अभियोगमा थुनामा पठाएको छ।
अवैध वन्यजस्तुको छाला तस्करी गरेको आरोपमा जिल्ला अदालत काठमाडौले नवराज पौडल र केशव न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘फाइभ मङ्किज इन्टरटेनमेन्ट’ नामको कम्पनी खोलेर वन्यजन्तु तस्करी गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई थुनामा पठाएको हो।
तर उनीहरुले आफूहरू उक्त कम्पनीमार्फत् जनावरका बारेमा पत्रकारिता गर्दै आएको दाबी गरेका थिए। जिल्ला अदालत काठमाडौमा आफूहरु पत्रकार भएको भन्दै उनीहरूले उक्त अभियोगबाट सफाइ पाउनुपर्ने दाबी गरेका थिए।
प्रहरीले उनीहरुको साथबाट सालकको खपटा र नीरबिरालोको छाला बरामद गरेको थियो। तर उनीहरूले ती सामग्री कुन प्रतिवादीमध्ये कसको साथबाट कुन चिज बरामद भएको भनी यकीन गर्न नसकी गोलमोटलरूपमा बरामदी मुचुल्कामा बनाएर फसाएको बकपत्र गरेका थिए।
प्रहरीले पौडेल र न्यौपानेको साथबाट सालकको खपटा र नीरबिरालोको छाला ओसारपसार गरी बिक्रीवितरण गर्ने कार्यमा संलग्न भएको प्रमाण भएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कसूरमा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो।
२०७६ कात्तिक ५ गते प्रहरीले काठमाडौ वडा नम्बर २६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। शंकास्पद अवस्थामा झोला बोकेर हिडेका उनीहरुलाई चेकजाँचका गर्दा कालो रङको लेदरको झोलामा ७०० ग्राम छाला र ३ फिट ११ इन्च लम्बाई भएको दुई वटा पोका फेला पारेको थियो। उक्त सामानलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा परीक्षण गर्दा सालको खपटा र नीरबिरालोको छाला भएको पाइएको थियो । ठमेल चोकमा पक्राउ परेका उनीहरुले उमेश भन्ने एकजनाले उपलव्ध गराएको र सुजन सर भन्नेलाई उपलव्ध गराउने कार्य मात्र आफूहरुले गर्ने गरेको बयान प्रहरी कार्यालयमा दिएका थिए। तर उनीहरुले अदालतको बयानमा भने फरक तथ्य राखेका थिए । उनीहरुले बयानमा फाइभ मङ्किज इन्टरटेनमेन्टमार्पmत समाचार सम्प्रेषण गर्ने कार्यमात्र गरेका बयानसमेत अदालतमा दिएका छन्।
उनीहरुले आफूहरु दुवैजना सुकेधारामा चिया खाँदै गर्दा सुजन आचार्य र अर्का एकजना मानिससमेत गाडी लिएर आफूहरू भएको ठाउँमा आएका र आफूहरूसमेत सोही गाडीमा चढेर ठमेलमा गई कार्यक्रमको सम्बन्धमा सल्लाह गर्ने निर्णय भएको बताएका छन् । त्यस्तै सोही गाडीमा भएको अवस्थामा उमेश पोखरेलले कालो लेदरको झोला लिएर आएको र सो झोला गाडीमा राखिदिएको तर ऊ आफू भने गाडीमा नचढेको उनीहरुको बयानमा उल्लेख छ । ‘सुकेधाराबाट हामी ठमेल जाने भनी हिँडेका थियौं र नर्सिङ चोकमा आइपुग्दा सादा पोसाकमा भएका व्यक्तिले गाडी रोकेर चेकजाँच गर्दा सोही उमेशले राखिदिएको झोलामा बरामद भएको भनिएको सामान फेला पारी हामीलाई आरोप लगाइयो,’ उनीहरुले बयानमा भनेका छन् । उनीहरुले उक्त झोला आफ्नो नभएको दावी अदालतमा गरे।
प्रहरीले बरामद गरेको प्रमाण र बरामद मुचुल्का हेर्दा र तत्कालीन प्रमाणका आधारमा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।