एजेन्सी– हैदराबादमा भएको बलात्कारका चार आरोपीको इन्काउन्टर फेक भएको भन्दै उक्त घटनाको न्यायिक जाँचबुझको मागसहित सर्वोच्च अदालतमा निवेदन दायर भएको छ ।
तेलंगनाको राजधानी हैदराबादमा महिला भेटनरी डाक्टरमाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चार अभियुक्तलाई इन्काउन्टरमा मारिएको थियो। पक्राउ परेका अभियुक्तहरुलाई बलात्कार भएको क्षेत्रमा लगेर प्रहरीले फेक रुपमा इन्काउन्टर गरेको दावी निवेदनमा गरिएको छ। यो घटनाको न्यायिक जाँचबुझ माग गर्दै शनिबार दुई निवेदन दायर भएका हुन्।
अधिवक्ता एमएल शर्माले दायर गरेको जनहित याचिकामा सर्वोच्च अदालतका पुर्वन्यायाधीशको निगरानीमा विशेष अनुसन्धान समिति निर्माण गरि मुठभेडको अनुसन्धान हुनुपर्ने माग गरिएको छ।
यसमा संलग्न प्रहरी अधिकारीमाथि पनि स्वतन्त्र रुपमा छानबिन गर्न माग गरिएको छ। शर्माको निवेदनमा यो गैरन्यायिक हत्या भएकाले यसमा संलग्न प्रहरी अधिकारीविरुद्ध पनि मुद्दा चलाउन माग गरिएको छ। उक्त निवेदनमा आगामी साता सुनुवाई हुँदैछ। निवेदनमा इन्काउन्टरलाई सर्मथन गर्नेहरुमाथि पनि कारबाहीको माग गरिएको छ।
सांसद जया बच्चन र महिला आयोगकी अध्यक्ष स्वाति मालीवालमाथि पनि कारबाही हुनुपर्ने निवेदनमा उल्लेख छ। उनीहरुले प्रहरीले गरेको इन्काउन्टर सही भएको भन्दै पक्षमा प्रतिक्रिया दिएका थिए। दोषी ठहर गर्ने निकाय अदालत नै नपुगी प्रहरीले मुठभेड देखाएर हत्या गर्नु गैरकानुनी भएको जिकीर निवेदनमा गरिएको छ। २७ नोभेम्वरमा हैदराबाद सहरको बाहिरी इलाकामा सरकारी अस्पतालमा कार्यरत २५ वर्षीया पशु चिकित्सकलाई चार युवाले सामूहिक बलात्कारपछि हत्या गरेका थिए। लरी मजदुर रहेका उनीहरुले स्कुटी स्टार्ट नभएर रोकिएकी उनलाई बलात्कार गरेर हत्या गरेका थिए ।
प्रहरीले २९ नोभेम्वरमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । ३० नोभेम्वरमा सवै अभियुक्तलाई १४ दिनसम्म न्यायिक हिरासतमा राख्ने आदेश अदालतबाट भएको थियो । यसअघि नै प्रहरीमाथि घटनामा लापरवाही गरेको आरोप लागेको थियो । प्रहरीमा हराएको निवेदन दिदाँसमेत खोजी नगरेको पाइएपछि तीन प्रहरीलाई सेवावाट हटाईको थियो। २७ नोभेम्वरको राति महिला डाक्टर बेपत्ता भएकी थिइन्। भोलिपल्ट बिहान उनको जलेको लास हैदराबादको शाननगरमा एक निर्माणाधीन फ्लाईओभरको मुनि पाइएको थियो ।
२७ नोभेम्बरमा चार आरोपितले नियोजित रुपमै डाक्टरको स्कुटी पन्चर गराएका थिए र सहयोग गर्ने बहानामा पुगेका थिए। उनीहरुलाई डाक्टरलाई सुनसान क्षेत्रमा लगेर सामूहिक बलात्कार गरेका थिए। यो घटनामा ६ नोभेम्वरमा प्रहरीले चार आरोपीलाई मुठभेडमा मारिएको सार्वजनिक गरेको थियो। प्रहरीले आरोपितहरुलाई घटनाक्रमको पुनरचनाका लागि लगेको र त्यहाँ पुगेपछि उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेको दाबी गरेका थिए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।