काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्।
त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल)को कीर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलन्यास गर्दै उनले देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताए। विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने उनकाे भनाइ छ।
मन्त्री पाेखरेलले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने र नेतृत्व लिनसक्ने विश्वाससमेत व्यक्त गरे। नेपालमा केही गर्न सकिँदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने उनले बताए।
भवन शिल्यान्यस भएपछि वैज्ञानिकहरुले विश्वविद्यालयसँग भएका सबै उपकरणहरु प्रयोगमा आउने बताएका छन्। वैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माणपछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनिकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताए।
त्रिभुवन विश्व विद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो। भवनको निर्माण कार्य एक वर्षभित्रमा सकिने रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।