काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको पुरुष फुटबलमा आज साँझ ५ बजे नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। फाइनल प्रवेशका लागि आजको खेल नेपालले बंगलादेशलाई बराबरीमा रोके पुग्ने छ।
डिफेन्डिङ च्याम्पियन नेपालको लागि घरेलु मैदानमा स्वर्ण जित्दै साख जोगाउने राम्रो अवसर छ। यो अवसरलाई कुनै पनि हालतमा गुमाउने पक्षमा नेपाल छैन।
उपाधिबाट दुई कदम पछि रहेको नेपालका लागि बंगलादेश बलियो प्रतिस्पर्धी हो। तर घरेलु मैदान र उल्लेख्य दर्शकको उपस्थितिमा बंगलादेशलाई हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने लक्ष्यमा नेपाल छ।
हुन त बंगलादेश यो प्रतियोगितामा बलियो टिमको रुपमा देखा परेको छैन। बंगलादेशलाई भुटानले उद्घाटन खेलमै १–० गोलले पराजित गरेको थियो। जबकी नेपालले भुटानलाई ४–० गोलले हरायो।
त्यसैले पनि बंगलादेशविरुद्ध खेल्दा नेपालको मनोबल उच्च हुनेछ। मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफुहरुको लक्ष्य स्वर्ण पदक भएको भन्दै बंगलादेशलाई हराउन कुनै कसुर बाँकी नराख्ने बताए। ‘बंगलादेशलाई हामी हराउन सक्छौं। हाम्रो लक्ष्य भनेकै स्वर्ण हो।’
भुटानले ४ खेल मध्ये ३ खेलमा जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। ३ खेलबाट २ खेलमा जित र १ खेलमा बराबरी खेलेको नेपालको ७ अंक छ। राउण्ड रोविनको तेस्रो स्थानमा रहेको बंगलादेशको ३ खेलबाट ४ अंक छ। आजको खेलमा नेपाललाई पराजित गरे बंगलादेश फाइनलमा पुग्नेछ। तर नेपालसँग बराबरी खेलेमा पनि बंगलादेश बाहिरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।