दिल्ली- भारतकाे राजधानी दिल्लीस्थित रानी झाँसी रोडमा रहेकाे अन्न बजारमा आइतबार बिहान भएकाे आगलागीमा परी मुत्यु हुनेकाे संख्या ४३ पुगेकाे छ। आगलागीमा परी १५ जना गम्भीर घाइते भएका छन्।
आगलागीपछि उक्त इलाकामा हलचल मच्चिएकाे थियाे। घाइतेहरुलाई आरएमएल , एलएनजेपी , हिन्दू राव र सफदरजगलन अस्पतालमा भर्ना गरिएको छ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दुख व्यक्त गरेका छन्। दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गका अनुसार साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र लैजान समस्या भएकाे थियाे। उनले आगो लागेको भवनमा कागजहरू रहेकाले धुँवाका कारण मानिसहरूलाई बचाउन समस्या भएको बताए।
घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए। आगाे निभाउन ३० भन्दा बढी दमकल परिचालन गरिएकाे थियाे। अन्न बाजारकाे एउटा भवनबाट बिहान करिब ५ बजे आगो सुरु भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।