जनकपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको कुस्तीमा भारतले ७ वटा खेलमध्ये ४ वटामा स्वर्ण पदक जितेको छ।
जनकपुरको कभर्डहलमा भएको कुस्ती खेलमा नेपालले ऐतिहासिक एक स्वर्ण पदक सहित ५ पदक जित्न सफल भएको छ।
महिलातर्फ ५५ केजी तौल समूहमा नेपालकी संगिता धामीले पहिलो पटक स्वर्ण जित्न सफल भएकी हुन्। १९ वर्षीय धामीले बांगलादेशकी सार्केर रिमीलाई हराएर ऐतिहासिक स्वर्ण पदक हासिल गरेकी छन्।
त्यसैगरी भारतको लागि महिला तर्फ ५७ किलो तौल समूहमा सरिताले स्वर्ण पदक जितेकी छिन् भने नेपालकी अम्बिका भण्डारीले रजत पदक जितेकी छन्।
९७ केजी तौलको समूहमा भारतको पुरुष समूहबाट काडियन सत्यावालीले स्वर्ण ,पाकिस्तानको तर्फबाट तयाव रजाले रजत पदक र बांगलादेशका हवलादर अवदुलले कास्य पदक जितेका छन्।
७६ केजी तौलको समूहमा भारतका गुरशरनले स्वर्ण, श्रीलंकाका चानीले रजत पदक जितेका छन्। १२५ केजी तौल समूहमा भारतका सूमितले स्वर्ण, पाकिस्तानका जमान अनवरले रजत र नेपालका राज यादवले कास्य पदक जितेका छन्।
कुस्ती खेलमा पाकिस्तानले पनि दुई वटा स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भएका छन्। पुरुष तर्फ ७० केजी तौलको समूहमा पाकिस्तानका इन्यात उल्लाहले स्वर्ण , श्रीलंकाका अनिलले रजत र नेपालका सुरेशले कास्य पदक जितेका छन्।
त्यस्तै पुरुषतर्फ नै ७९ केजीको समूहमा पाकिस्तानका अवदुल रेहमानले स्वर्ण, श्रीलंकाका चनकाले रजत र नेपालका बुन्नीलाल राजुले कास्य पदक जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।