काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारको कमजोरीका कारण राष्ट्रिय स्वाभिमान धरापमा परेको आरोप लगाएका छन्। शनिबार नेपाली कांग्रेस काठमार्डौ क्षेत्र नं. ८ द्वारा आयोजित सरकारको ध्यानाकर्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वमन्त्री समेत रहेका जोशीले नेपाल-भारत र चीन जोड्ने त्रिदेशीय सीमाविन्दुमा रहेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो राजनीतिक नक्सामा समेटेकोे तीन हप्तापछि सरकारले एउटा पत्र लेख्नुबाहेक केही गर्न नसकेको जिकिर गरे।
उनले भने, ‘हिजो प्रतिपक्षमा रहँदा भारतविरुद्ध बोलेर जनमत बटुलेका कम्युनिष्ट सरकारका प्रधानमन्त्री आज राष्ट्रय स्वाभिमान खतरामा परिरहेको बेला कुटनीतिक कदम पहल किन थाल्दैनन्। उक्त भूमी नेपालको हो भनेर विभिन्न दस्तावेजहरुले प्रमाणित गरिसकेको छ, यस्तो बेलामा, सरकारको तर्फबाट कुटनीतिक कदम चाल्नुपर्ने बेला छिमेकिलाइ ढाडस दिएर सिमाको विषय हल हुँदैन।’
उनले गुठी विधेयक लगायतका अन्य विभिन्न विधेयकहरूलाई सरकारले फेरि गलत नजिर राख्दै प्रमाणित गर्न खोजेको भन्दै आपत्ति जनाए। धर्नाका कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाले सरकारले आफ्ना गलत कार्यहरुलाई बेलैमा नसच्याए सरकार विरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।
सरकारको गलत काम कारबाहीलाई खबरदारी गर्न आयोजना गरेको धर्ना कार्यक्रममा सहभागीहरुले ‘निर्मला पन्तलाई न्याय दे’, ‘भ्रष्टाचार नियन्त्रण गर’, ‘लिपुलेक हाम्रो हो, सीमा विवाद अन्त्य गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।