भैरहवा- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्नेलाई कारबाही गरिने चेतावनी दिएका छन्। उनले अन्तर्घातीलाई कारबाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने ठहर गर्दै उनीहरूलाई कारबाही गरिने बताएका हुन्।
नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्विल चियर वितरण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले भने, ‘अन्तर्घात गरेर पार्टीलाई हराउन लाग्ने नेता/कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारबाही नभएसम्म पार्टी हार्दै जान्छ, यसमा दृढ भएर कारबाहीमा लाग्छु सबैले सहयोग गर्नुस्।’
हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएकोमा खुसी व्यक्त गर्दै देउवाले राम्रोसँग जनताको काम गरे अबको चुनावमा कांग्रेसले राम्रो स्थान लिने बताए। ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो,’ उनले भने।
कास्की र दाङमा सहानुभूतिका कारण नेकपाका महिला उम्मेदवारहरू निर्वाचित भएको उनको भनाइ थियो।
कार्यक्रममा नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरूलाई ४४ वटा साइकल तथा ५ वटा ह्विलचेयर वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।