ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङमा नेपालका ६ खेलाडी फाइनलमा प्रवेश गरेका छन्। नेपालका महिलातर्फ ४ र २ पुरुष खेलाडी फाइनलमा पुगेका हुन्।
ललितपुरको सातदोबाटोमा शनिबार भएको खेलमा नेपाली महिला खेलाडीहरु ललिता महर्जन, मिनु गुरुङ र संगिता सुनार फाइनलमा प्रवेश गरेका हुन्। त्यस्तै, ६४ केजीका पुनम रावल यसअघि नै बाइ पाएर फाइनल पुगिसकेकी छिन्।
महिला ४८ केजी तौल समूहको खेलमा ललिताले श्रीलंकाकी नादिका पुष्प रनासिंघे अराचचिघेलाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्। त्यस्तै महिला ५४ केजी तौल समूहको खेलमा मिनुले पनि बंगलादेशकी ओनिता ईस्लामलाई अंककै आधारमा पराजित गरिन्। त्यसैगरी ६० केजी तौल समूहको खेलमा संगीताले पनि श्रीलंकाकी केशानी हंसिका कस्तुरी अर्चचिघेलाई अंककै आधारमा हराउँदंै भारतकी परबिनसँग स्वर्णका लागि भेट पक्का गरिन्। परबिन भने बाई पाएर सोझै फाइनल प्रवेश गरेकी थिइन्।
त्यस्तै ६४ केजी तौलको सेमिफाइनलमा नेपालका भूपेन्द्र थापामगरले बंगलादेशका मोहमद अलामिनलाई अँकको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेका छन्। त्यस्तै, ९१ केजी माथि तौल समूहमा नेपालका आशिष दुवाडी फाइनलमा प्रवेश गरेका छन्।
पुरुष ४९ केजी तौल समूहको खेलमा भने नेपालका सुशिल थापामगर भारतका बिनोद तनवरसँग अंकको आधारमा पराजित भए। हारसँगै सुशिल कास्य पदकमा सीमित बने। त्यसैगरी ५६ केजी तौल समूहमा पनि नेपालका पूरन राई पराजित हुँदै कास्यमा सीमित बने। यसअघि बाई पाएर सोझै सेमिफाइनल पुगेका उनी बंगलादेशका मोहमद रोबिन मियासँग स्पिलिट डिसिजनको आधारमा पराजित भए।
पुरुष ९१ केजी तौल समूहमा भएको खेलमा भने नेपालका अर्जुन सिगु भारतका गौरव चौहानसँग पराजित हुदै कास्यमा सीमित बने।
शनिबारै भएको अन्य खेलमा भारतकी कलाइभानी श्रीनिवासनले भुटानकी ल्हामो टान्डिनलाई हराउँदै फाइनलमा नेपालकी ललितासँगको भेट पक्का गरिन्।
त्यस्तै महिला ५४ केजीमा भारतकी शिक्षाले श्रीलंकाकी सजिवनी मुथुथन्थ्री पटाबेन्डीगेलाई हराइन्। त्यस्तै पुरुष ४९ केजीमा भुटानका टासी वाङ्दीले बंगलादेशका मोहम्मद सोजिब होसेनलाई हराउँदै फाइनलमा भारतका विनोद तनवरसँग भेट पक्का गरेका छन्। पुरुष ५६ केजीको खेलमा भारतका सचिन फाइनलमा प्रवेश गरेका छन्। उनले पाकिस्तानमा नकिबुल्लाहलाई अंकको आधारमा हराए। त्यसैगरी ६४ केजीमा भारतका मनिष कौशिकले पनि श्रीलंकाका डिनिडु डु पोन्नविला भिदानालागे दनलाई पराजित गर्दै फाइनलमा नेपालका भुपेन्द्र थापामगरसँग स्वर्णका लागि प्रतिस्पर्धा तय गरे । त्यसैगरी ७५ केजीको फाइनलका लागि भारतका अंकित खताना र श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दन खेल्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।