काठमाडौं- १३औं साग पुरुष फुटबलमा लिग चरणमा नेपालसँग पराजित भएको भुटानले बाँकी सबै खेल जित्दै फाइनलमा स्थान बनाएको छ। शनिबार लिगको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ३–० ले हराएको हो।
बंगलादेश र माल्दिभ्सलाई पनि जितेको भुटान ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। भुटानले श्रीलंकाविरुद्ध पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो।
शनिबार नै भएको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले हराएको थियो। माल्दिभ्ससँगको जितले नेपालको फाइनल यात्रा बलियो देखिएको छ। अब आइतबार बंगलादेशसँगको खेलमा बराबरी मात्रै खेले पनि नेपाल फाइनलमा पुग्नेछ।
नेपालको ३ खेलमा ७ अंक छ। बंगलादेशको ३ खेलमा ४ अंक छ। माल्दिभ्स र श्रीलंका ४ खेलमा २–२ अंक मात्रै बनाएर लिगबाट बाहिरिसकेका छन्।
नेपालले समूह चरणमा भुटानलाई ४–० ले हराएको थियो। भुटान पहिलोपटक साग फुटबलमा फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।