काठमाडौं- मुना चौधरीको दोस्रो उपन्यास ‘दुलारी’ सार्वजनिक भएको छ।
प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो।
लेखक नयनराज पाण्डे तथा समाजशास्त्री प्रियंका कापरले पुस्तकमाथि आफ्नो धारणा राखेका थिए। त्यस्तै, चौधरीले पुस्तक लेखनको अनुभव सुनाएकी थिइन्।
‘यो एउटा अग्लो उपन्यास हो भन्न मलाई कुनै आपत्ति छैन’, पाण्डले भने।
मधेसलाई आत्मसात नगरिकन, मधेसको भाषा, संस्कृति, भूगोल र पीडालाई नबुझिकन खालि मुद्दामात्रै उठाउँछु भन्ने आशयमा एकदुई वर्षयता लेखिएका उपन्यासले आफूलाई निराशा मात्रै दिएको भन्दै पाण्डेले दुलारीले भने आफूलाई आकर्षित गरेको बताए।
मधेसको विविधतालाई लेखकले मिहिन ढंगले प्रस्तुत गरेको पाण्डेले बताए। ‘दलित समुदायको महिला पात्रलाई केन्द्रमा राखेर मधेसको समाजलाई यति मिहिन ढंगले लेखिएको यो पहिलो उपन्यास हो भन्ने लाग्छ’, उनले भने, ‘मैले पनि मधेसबारे लेखेको छु। तर, त्यहाँको जनजीवनलाई, संस्कृतिलाई, पीडालाई, गरिबीलाई, संघर्षलाई यति मिहिन ढंगबाट उठाउन सकेको छु जस्तो लाग्दैन।‘
त्यस्तै कापरले लेखकले सानासाना कुरालाई पनि कुशलतापूर्वक लेखेकोमा प्रशंसा गरिन्। ‘साहित्यिक चेत भएका र नभएका दुवै किसिमका पाठकलाई पुस्तक पठनीय छ’, उनले भनिन्।
उनले उपन्यास पढुञ्जेल मुख्य पात्र दुलारीलाई पढिरहेको होइन, प्रत्यक्ष हेरिरहेको अनुभव हुने बताइन्।
लेखक चौधरीले लेखनमा आफूले सबैको सहयोग पाएको बताइन्। ‘त्यसले मलाई अगाडि बढ्न सहयोग पुगेको छ’, उनले भनिन्।
उनले आफू हुर्कने बेलामा गाउँठाउँमा देखेको कुरालाई नै उपन्यासको विषय बनेको बताइन्।
चौधरीको यसअघि ‘जयवर्धन सलहेश’ प्रकाशित छ।
दुवै पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।