काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फेन्सिङमा नेपालकी रविना थापा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छिन्।
शनिबार भएकाे फेन्सिङको महिला व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविना रजतमै सीमित भएकी हुन्।
उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै स्वर्ण नजिक पुगेकी थिइन्। अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले कास्य पदक पाए।
महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने । नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि कांस्यमै सीमित बनेका हुन्। यो स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शितल दलालले रजत जिते।
पुरुषको व्यक्तिगत फ्वेलतर्फ भने भारतीय खेलाडीले दबदबा कायम राखे । भारतका विनोथकुमार भेलाउथामले स्वर्ण, राजेश्वर सिंहले रजत जिते। यस्तै श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मियाले कास्य जिते।
फेन्सिङमा आइतबारदेखि टिम इभेन्ट्सका प्रतिस्पर्धा सुरु हुनेछ। फेन्सिङमा अहिलेसम्म भारतले ५ र बंगलादेशले एक स्वर्ण जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।