काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) को म्याराथनमा विकल्पका रुपमा राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडी किरणसिंह बोगटीले स्वर्ण जितेका छन्। नेपालका लागि स्वर्ण पदकको दाबेदारको रुपमा कृष्ण बस्नेत त्यसपछि होमलाल श्रेष्ठलाई हेरिएको थियो। किरणसिंह बोगटी भने विकल्पकै रुपमा थिए।
१३औं साग आउनुभन्दा अघि कृष्ण पारिवारिक कारणले गर्दा खेल्न नपाउने भएपछि नेपालको लागि निकै ठूलो झड्का लाग्यो। आश गरिएको म्याराथनमा पनि स्वर्ण गुम्ने डर सबैलाई भयो।
शनिबार बिहान दशरथ रंगशालाबाट सुरु भएको म्याराथनमा नेपालको तर्फबाट होमलाल र किरणसिंह दौडिए। यो बेलासम्म होमलालबाटै मेडलको अपेक्षा गरिएको थियो। तर सबैलाई आश्चार्य पार्दै स्वर्ण जिते किरणसिंह बोगटीले।
उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते। रजत पदक जितेका भारतका राश्पाल सिंहले निर्धारित दूरी २ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पूरा गर्दा भारतकै श्री सिंहले २ घण्टा २२ मिनेट ६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै कास्य पदक पाए।
स्वर्ण पदक जितेपछि किरणसिंह भन्छन्, ‘धेरै खुसी छु। म नयाँ नै हो। म भन्दा धेरै पूराना खेलाडीहरु हुनुहुन्छ। कृष्ण बस्नेत दाइ पहिलो नम्बरमा हुनुहुन्थ्यो। तर उहाँले खेल्न पाउनु भएन। त्यसपछि होमलाल श्रेष्ठ हुनुहुन्थ्यो उहाँको पनि खेल्दै गर्दा राम्रो भएन।’
होमलाल चौथो भए। दौडकै दौरानमा सुरुदेखि अन्तिमसम्म आफ्नो अग्रतालाई कायमै गर्दै किरणले स्वर्ण जितेका हुन्।
‘देशको झण्डा फरफराउन पाउँदा निकै खुसी छु। गोल्ड नै जित्छु भन्ने विश्वासले दौडिएको थिएँ। दौडकै बेला कहीँँ पनि पछि परिनँ। पछाडि दोस्रो हुनेसँग मेरो दूरी कति फरक छ विचार गर्दै दौडीरहेका थिएँ। निकै गाह्रो त भइरहेको थियो’, खुसी ब्यक्त गर्दै किरणले भने।
आफूले जितेको गोल्ड मेडल आमालाई समर्पण गर्न चाहेको खुसीको आशु झार्दै किरणले भने।
कैलालीमा जन्मिएका किरण एपीएफमा सहायक हल्दारको रुपमा जागिरे छन्। २०६६ सालमा पोखरामा हुँदा बक्सिङदेखि अन्य खेलहरु खेल्ने गरेका उनी एपीएफले आयोजना गरेको म्याराथन प्रतियोगितादेखि एथ्लेटिक्समा लागेका थिए। त्यसपछि एपीएफमा जागिरे भएको उनी म्याराथनमा दौडिन थालेको भने ३ वर्ष मात्रै पूरा भएको छ।
आफूलाई यहाँसम्म ल्याउन गोपीचन्द्र पार्कीको ठूलो हात भएको उनी भन्छन्। ‘यसको सम्पूर्ण श्रेय मेरो साथी गोपीचन्द्र पार्कीलाई जान्छ। उसले नै यसो गर्नु पर्छ। यसरी अघि बढ्नु पर्छ भनेर सिकाउनु भयो। गोल्ड मेडलको श्रेय नै उसैलाई जान्छ।’
गोपीचन्द्र पार्कीले शुक्रबार मात्रै ५ हजार मिटरमा स्वर्ण पदक नेपाललाई दिलाएका थिए। त्यसो त, उनको यो सबैभन्दा ठूलो उपलब्धि हो। अहिलेसम्म उनले राष्ट्रिय स्तरको म्याराथनमा पनि स्वर्ण जित्न सकेका थिएनन्।
‘म्याराथनमा मैले जितेको यो नै पहिलो पटक हो। अहिलेसम्म राष्ट्रिय स्तरको प्रतियोगितामा पनि म चौथो पाँचौं हुने गरेको थिएँ। आठौं राष्ट्रिय खेलकुदमा म तेस्रो भएको थिएँ।’ स्वर्णधारी किरण थप्छन्, ‘मैले क्लोज क्याम्पमा निकै राम्रो गरेँ। अभ्यास गर्दै आफ्नो टाइमिङहरुलाई सुधार गर्दै अगाडि बढँे। आफ्नो अथक प्रायसले नै स्वर्ण जितेँ।’
त्यसो त, प्रदेश ५ मा गत बैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा किरण म्याराथनमा तेस्रो भएका थिए। आठौं राष्ट्रिय नै १३औं सागको मुख्य छनोट भएको हुँदा कृष्ण र नवराज साउद छनोट भए। किरणलाई वैकल्पिक खेलाडीको रुपमा क्लोज क्याम्पमा बोलाइयो।
यता, प्रशिक्षक धनिराम चौधरी पनि खुसी छन्। अझ भनौं दंग। अहिले आएर आफूहरुले गरेको निर्णय सही सावित भएको एथ्लेटिक्स प्रशिक्षक धनिराम चौधरी बताउँछन्।
‘आठौं राष्ट्रिय खेलकुदको म्याराथनमा किरण तेस्रो भएपछि राष्ट्रिय टिमको क्याम्पमा विकल्पको रुपमा राखिएको हो। पहिलो र दोस्रो हुने खेलाडीलाई मात्र राख्दा केही भइहाल्यो भने भन्ने सोचेर हामीले तेस्रो हुनेलाई पनि क्याम्पमा राखेका थियौँ। जुन कुरा अहिले राम्रो थियो भनेर प्रमाणित पनि भयो’, प्रशिक्षक चौधरी भन्छन्।
३४ वर्षीय किरणका २ छोरा छन्। एउटा छोरा भने बाबुको खेल हेर्न रंगशाला मै आएका थिए। उनको यो सफलतापछिको राज उनकी श्रीमती पनि हुन्। उनलाई खेलमा दौडिन हरेक पल साथ दिइरहन्छिन्। शनिबार बिहान दौडिन अघि किरणलाई उनीकी श्रीमतीले फोन गरेर भनेकी थिइन्, ‘अल द बेष्ट बुढा।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।