न्युयोर्क– अमेरिकाको न्युयोर्कस्थित ‘इस्ट रिभर’मा एक हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। म्यानहटनका मेयर बिल डे ब्लासियो तथा प्रहरीलाई उदृत गर्दै मेयरका प्रेस सल्लाहकार इरिक फिलिप्सले २ जनाको मृत्यु भएको र थप एक जना घाइते भएको ट्विटमार्फत जनाएका छन्।
ट्विटरमा पोस्ट गरिएको भिडियोमा रातो रंगको हेलिकप्टर कठिन अवस्थामा अवतरण गर्ने प्रयास गरिएपनि नदीमा खसेको देखिएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्घटनापश्चात् हेलिकप्टरको सम्पूर्ण भाग पानीमा डुबेको थियो।
हालसम्म हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने कुरा स्थानीय अधिकारीहरुले जानकारी दिएका छैनन्। दुर्घटनापछि उद्दारका लागि प्रहरी तथा अग्नि नियन्त्रण महाशाखाका उद्दारकर्ताहरु घटनास्थल पुगेका थिए।
‘नदीको पानी असाध्यै चिसो थियो र डुब्ने खतरा पनि बढी थियो।’, सकुशल उद्दार गरिएकी ६६ वर्षीय म्यारी लीले भनिन्,‘जब हामीलाई उद्दार गरिएको थियो पानीभित्र भएकोले हामीले केहि पनि देख्न सकिरहेका थिएनौँ।’
संघीय वायु सेवा निगमले युरोकप्टर एएस३५० हेलिकप्टर रोजवेल्ट टापुको उत्तरतर्फ खसेको जनाएको छ। आइतबार साँझ करिब ७ बजे भएको सो दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न नसकेको निगमले बताएको छ।
सन् २०११ मा वरिष्ठ विमान चालक तथा ४ पर्यटक बोकेको हेलिकप्टर इस्ट रिभरमा नै दुर्घटना हुँदा ३ पर्यटकको मृत्यु भएको थियो।
सो घटना भएको २ वर्षपछि साेहि नदीमा इन्धन सकिएकाे ४ पर्यटक सवार हेलिकप्टरलाई चालकले सुरक्षित अवतरण गराएका थिए। करिब १ हजार ५ सय फिटको उचाइमा रहेको अवस्थामा हेलिकप्टरलाई अवतरण गराउँदा कोहि पनि यात्रुलाई गम्भीर चोट लागेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।