बर्दिवास- महोत्तरीको बर्दिवास–१४ मा बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासको ८ कोठे भवन निर्माण कार्य सुरु भएको छ। बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले अहिलेको क्याम्पस भवनकै माथिल्लो तलामा आइतबार भवन निर्माण कार्यको शुभारम्भ गरे।
क्याम्पसको माथिल्लो तलामा ८ कोठे दोस्रो तला निर्माणका लागि बर्दिवास नगरपालिकाले रु ४५ लाख उपलब्ध गराएको छ। त्यसैगरी विश्वविद्यालय अनुदान आयोगबाट रु १२ लाख उपलब्ध हुने प्रक्रिया अन्तिम चरणमा पुगेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिए। दोस्रो तला निर्माणमा रु ६९ लाख खर्च हुने प्राविधिक अनुमान रहेको छ।
क्याम्पसले थप तेस्रो तल्लामा ८ कोठा निर्माणका लागि शिक्षाप्रेमी विभिन्न व्यक्तिलाई आह्वानसमेत गरेको छ। 'दोस्रो तलाको ८ कोठा नगरपालिका र विश्वविद्यालय अनुदान आयोगको सहयोगबाट पूरा गर्छौं,' क्याम्पस भवन निर्माण समितिका अध्यक्ष एवम् क्याम्पस प्राज्ञ सभाका उपाध्यक्ष लीलामणि आचार्यले भने, 'तेस्रो तला निर्माणका लागि स्मृति भवनको हामीले खुला आह्वान गरेका छौँ।'
शिक्षाशास्त्र र वाणिज्य सङ्कायमा स्नातक तहको पठनपाठन सञ्चालन गरिरहेको क्याम्पसले अब स्नातकोत्तरको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा संवर्द्धन प्रक्रिया बढाएको छ। हाल स्नातक तहमा ५०५ विद्यार्थी अध्ययनरत छन्।रास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।