काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सातौं दिन शनिबार (आज) विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ। फुटबल, क्रिकेट, आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।
काठमाडौं, पोखरा र जनकपुरमा गरि कूल १८ खेलमा प्रतिस्पर्धा हुनेछ। शनिबार एथ्लेटिक्सको ९ वटा स्वर्णका लागि भिडन्त हुनेछ। बिहान ७ बजे महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरु भएकाे छ। आर्चरीकाे ४ वटा स्वर्णका लागि पोखरामा प्रतिस्पर्धा हुनेछ।
महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछन्। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछन्।
पुरुष फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ। यस्तै अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ। पोखरा रंगशालामा हुने खेल दिउँसो ४ बजे हुनेछ।
पुरुष क्रिकेटमा नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ। महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ।
सुटिङतर्फ फाइनल हुँदैछ। स्क्वासतर्फ पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ। जुडोको खेलको औपचारिक सुरुवात शनिबार हुँदैछ।
म्याराथन दाैड सुरु
सागअन्तर्गत ४२ किलोमिटर म्याराथन दौड सुरु सुरु भएको छ। बिहान सात बजे दशरथ रंगशालाबाट दौड सुरु भएको हो।
दशरथ रंगशालाबाट सुरु हुने दौड टेकु– कालिमाटी– कलंकी– बल्खु– सातदोबाटो– कोटेश्वर– गठ्ठाघर– सल्लाघारी– सूर्यविनायक– हुँदै पुनः सल्लाघारी– कोटेशवर– नयाँबानेश्वर– माइतिघर– सिंहदरबार– भद्रकाली– वीर अस्पताल– जमल– लैनचौर– दरबारको उत्तर ढोका– नागपाखरी– जयनेपाल– संग्रहालय दक्षिण गेट– घण्टाघर– भद्रकाली– नागस्थान हुँदै दशरथ रंगशालामा पुगेर टुंगिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।