बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ। बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई यतिबेला समस्या देखिएको छ। शिक्षकका लागि आवश्यक रकम निकासा नभएपछि विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्दले बताइन्।
अर्थ मन्त्रालयले कम रकम निकासा दिएपछि विकास बजेटबाट तलब खुवाउनु परेको उनको भनाइ छ। अर्थ मन्त्रालयले रु १० करोड मात्रै निकासा दिएकाले नगरपालिकाले रु ४ करोड ३५ लाख ३ हजार १६० विकास बजेटबाट थपेर शिक्षकलाई तलबभत्ता वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले बताए।
दशरथचन्द नगरपालिकाअन्तर्गत ५६ वटा सामुदायिक विद्यालय रहेका छन् ।
नगरपालिकाको विकाससहित २ चौमासिकको तलबभत्ता वितरण गरिएको नगरपालिकाको शिक्षा शाखा प्रमुख गणेश जोसीले बताए। विकास बजेट शिक्षकको तलबमा खर्च भएकाले समयमा निकासा नभए विकास निर्माणका काममा बाधा पुग्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।