काठमाडौं– गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले प्रहरीको सरुवा, बढुवा र तालिमको व्यवस्था ऐनमा हुनेगरी संघीय प्रहरी ऐनको तर्जुमा अन्तिम चरणमा रहेको बताएका छन्।
‘प्रहरी हाम्रो टोलमा’ अभियान शुभारम्भ गर्दै मन्त्री शर्माले प्रहरीमा सरुवा, बढुवा र आकर्षक तालिममा हुने भेदभाव तथा चलखेल रोक्न संघीय प्रहरी ऐनमै यसको व्यवस्था गरिएको बताए। ऐनको तर्जुमा अन्तिम चरणमा रहेको र चाँडै संसदमा प्रस्तुत गरिने पनि उनले जानकारी दिए।
‘प्रहरीमा बढुवा र सरुवामा हुने चलखेल रोक्न हामीले ऐनमै यसको व्यवस्था गरेका छौं, निश्चित तालिमपछि बढुवा हुने व्यवस्था पनि यसमा छ,’ मन्त्री शर्माले भने।
सरुवा, बढुवा, तालिम र पदावधिको व्यवस्था प्रहरी नियमावलीमा रहेका कारण स्वार्थ अनुसार चलखेल हुँदै आएको छ।
गृह मन्त्रालयले सहर र गाँउका टोलमा रहेका समस्याको पहिचान र त्यसबाट उत्पन्न हुन सक्ने अपराध न्युनीकरणका लागि प्रहरी हाम्रो टोलमा अभियान सञ्चालनमा ल्याएको छ। देशभरका २५ सय इकाइ मार्फत शुक्रबार एकैसाथ सुरुवात गरिएको अभियानका लागि प्रहरी, स्थानीय निकायका जनप्रतिनिधि र समाजमा रहेका व्यक्तिको समन्वयन समिति बनाइने मन्त्रालयले जानकारी दिएको छ। अभियानले सञ्चालनमा रहेका सामुदायिक प्रहरीको मौजुदा प्रारुपमा समेत केही परिवर्तन गर्नेछ।
गृह सचिव लोकदर्शन रेग्मीले बेलायती प्रहरीको सुरुवाती अवधारणा जस्तै यहाँको अवस्थामा लागि अभियान सार्थक हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।