वासिंगटन डिसी– अमेरिकाको केन्द्रिय गुप्तचर विभागका निर्देशक माइक पोम्पिओले उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनसँग वार्ता गर्दाको खतराप्रति अमेरिकी राष्ट्रपति ट्रम्प पूर्ण रुपमा जानकार रहेको बताएका छन्।
राष्ट्रपति ट्रम्पको बचाउ गर्दै आइतबार निर्देशक माइकले फक्स न्युजसँग भने,‘राष्ट्रपति ट्रम्पले यो सब रंगमञ्चका लागि गरिरहनुभएको छैन। उहाँ वार्तामा समस्या समाधान गर्न जादैँ हुनुहुन्छ।’
यसअघि राष्ट्रपति ट्रम्पले सो भेटवार्तामा विश्वका लागि सबैभन्दा ठूलो सम्झौता हुनसक्ने बताएका थिए। तर आलोचकहरुले भने यदि छलफल कमजोर तरिकाबाट भयो भने दुबै देशको सम्बन्ध यसअघिको भन्दा खराब स्थितीमा जानसक्ने आशंका गरेका छन्।
कुनै पनि अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली प्रमुख नेताका बीचमा हालसम्म भेटवार्ता भएको छैन। उत्तरका नेता किम जोङलाई भेटेर अमेरिका पुगेको दक्षिण कोरियाली टोलीमार्फत किमले ट्रम्पसँग भेटका लागि निम्तो दिएका थिए।
आफ्ना सबै आणविक कार्यक्रम तथा मिसाइल परिक्षण बन्द गर्ने बताएको उत्तर कोरियाको सो प्रस्तावलाई राष्ट्रपति ट्रम्पले स्विकारेका थिए। यी दुई प्रमुख नेताकाबीचमा आगामि मेमा भेटवार्ता हुनसक्ने बताइएको छ।
सन् २००३ मा परमाणु गैरप्रसार सन्धी(एनपिटी)बाट उत्तर कोरिया बाहिरिएपछि उत्तरसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्ने लगातारको प्रयास बिफल भएको थियो।
निर्देशक माइकले उत्तर कोरियासँग सम्झौता गर्दाको चुनौतीका विषयमा ट्रम्प प्रशासनले आफ्नो आँखा फराकिलो बनाएको दावी गरे। उनले भने,‘उत्तर कोरिया बल्ल वार्ताको टेबलमा आउन राजी भएको छ। किनकी अमेरिकाले नेतृत्व गरिएको उत्तरमाथिको प्रतिबन्धले आर्थिक रुपमा नोक्सानी पुर्याएको छ।’
निर्देशक माइकले किम सत्तमा आएपछि आजसम्म उत्तर कोरिया आर्थिक रुपमा यस्तो खराब स्थितीमा नआएको र नेता किमले पनि कडा खालको अन्तर्राष्ट्रिय दबाब झेल्नु नपरेको बताए।
ह्वाइट हाउसका अर्का एक उच्च अधिकारी स्टिव म्नुचिनले वार्ता गर्नुको स्पष्ट उद्देश्य भनेको कोरियाली प्रायद्धिपमा आणविक कार्यक्रम सदाका लागि अन्त्य होस् भन्ने रहेको बताए। उनले उत्तरसँगको वार्ताअघि कुनै पनि किसिमका आणविक तथा मिसाइल परिक्षण गर्ने कार्य हुनेछैन भन्नेमा अमेरिका विश्वस्त रहेको दावि गरे।
अमेरिकाका दुवै प्रमुख दलका नेताहरुले दुई नेताबीच हुने भनिएको वार्ताप्रति चासो दिँदै पक्षविपक्षमा आफ्ना धारणाहरु राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।