मेलवर्न– अष्ट्रेलियाको संसदमा आफ्ना साथीलाई विवाहको प्रस्ताव राखेका एक सांसदले आइतबार विवाह गरेका छन्। अष्ट्रेलियाको भिक्टोरियाबाट संसदमा प्रतिनिधित्व गरेका समलिंगी सांसद टिम विल्सनले प्रस्ताव राखेको ३ महिनापछि साथी रायन बोल्गरलाई जीवनसाथी चुनेका हुन्।
गत डिसेम्बर ४ मा संसद बैठकका दौरान समलिंगी विवाहको विषयमा बहसको क्रममा उनले बोल्गरलाई विवाहको प्रस्ताव राखेका थिए। सो घटनापछि उनी संसदमा विवाह प्रस्ताव राख्ने पहिलो अष्ट्रलियाली सांसद समेत बनेका छन्।

अष्ट्रेलियामा लामो बहसपछि भएको मतदानमा समलिंगी विवाहलाई मान्यता प्रदान गर्ने पक्षमा करिब ६२ प्रतिशत सांसदहरुले मत दिएका थिए।
आइतबार मेलवर्नको रोयल बोटानिक गार्डेन्समा एक वैवाहिक समारोहका बिचमा विवाह बन्धनमा बाँधिएका विल्सन र बोल्गर विगत १० वर्षभन्दा बढि समयदेखि सम्बन्धमा थिए।
विवाहपछि सांसद विल्सनले एक ट्विट गर्दै ११ मार्च आफ्नो जीवनको महत्वपूर्ण दिन भएको बताए। उनले अबदेखि सो दिन आफुहरुका लागि सधैँ वैवाहिक वर्षगाँठको दिन बन्ने लेखेका छन्।

गत डिसेम्बरमा संसदमा समलिंगी विवाह प्रस्तावको पक्षमा आफ्नो मन्तव्य दिइरहेका विल्सनले आगन्तुक कक्षमा बसिरहेका बोल्गरलाई सम्बोधन गरेका थिए।
‘हामी दुबैको देब्रे हातमा रहेको औँठीले हामीबिचको सम्बन्धलाई परिभाषित गरेको छ। अब हामीले एक मात्र काम गर्न बाँकि छ।’, सम्बोधनका क्रममा निकै भावुक भएका विल्सनले बोल्गरलाई भने,‘रायन प्याट्रिक बोल्गर, विल यु म्यारी मी?’
संसदकै अतिथि कक्षमा बसेका बोल्गरले चर्को स्वरमा जवाफ दिए– ‘एस’। त्यसपछि हलभरि ताली गुञ्जिएको थियो।
समलिंगी विवाहलाई मान्यता दिने अष्ट्रेलिया विश्वको २६औँ राष्ट्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।