नयाँ दिल्ली– भारतले सन् २०२२ सम्ममा १ सय ७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन(आइएसए) को उद्धघाटन समारोहमा भने,‘भारतले आगामी पाँच बर्षभित्र १ सय ७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १ सय गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने योजना ल्याएको छ।’
‘हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ। भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ।’, भारतीय प्रधानमन्त्री मोदीले भने।
सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत् ७० लाख विद्यार्थीलाई उज्यालोको पहुँच दिनेछ। ‘अटल ज्योति ’को उद्देश्य भारतमा सडक बत्तीको प्रबन्ध गर्नु भएको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उनको भनाइ छ।
प्रधानमन्त्री मोदीले भने,‘यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ।’
भारत सरकारले २८ अर्ब एलइडी बल्ब बाँडेर विगत तीन बर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको प्रधानमन्त्री मोदीले दावी गरे। यसबाहेक यस योजनाले ३ करोड टन कार्बनडाईअक्साइड उत्सर्जन हुनबाट जोगाएको छ।
भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको उक्त कार्यक्रममा जानकारी दिइएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।