बेइजिङ– चीनको ‘नेशनल पिपुल्स कंग्रेस’ले दुई कार्यकालमात्रै राष्ट्रपति रहने पाउने देशको संवैधानिक व्यवस्था अन्त्य गर्ने संविधान संशोधनलाई आइतबार अनुमोदन गरेको छ।
सन् २०२३ सम्म कार्यकाल रहेका चिनियाँ राष्ट्रपति सी चिन पिङले कहिलेसम्म चीनको राष्ट्रपति बन्नेछन् भन्ने सीमाअवधि संविधान संशोधनसँगै हटेको हो। गएको फेब्रुअरीको अन्त्यमा चिनियाँ कम्युनिष्ट पार्टीले राष्ट्रपतिको कार्यकालको समयसीमा हटाउन सिफारिस गरेको थियो।

उक्त कदमले राष्ट्रपति सी जिनपिङलाई सन् २०२३ मा आफ्नो कार्यकाल समाप्त भएपछि पनि सम्भवतः जीवनभरका लागि सत्तामा रहिरहन बाटो खोलिदिएको छ।
निर्वाचनमा उपस्थित कुल २ हजार ९ सय ६४ प्रतिनिधिमध्ये दुई जनाले मात्रै विपक्षमा मत हालेका थिए भने तीन जना अनुपस्थित रहेका थिए।
अरू देशको संसद जस्तै चीनमा नेशनल पिपुल्स कंग्रेस सबैभन्दा शक्तिशाली कानून बनाउने निकाय हो।

देङ सियाओपिङले सन् १९८२ मा ल्याएको ‘कार्यकालमा सीमा तोक्ने व्यवस्था’ हटाउनु खतरनाक हुने कतिपय आलोचकहरूले चेतावनी दिएका छन्। चीनले राष्ट्रपति पदमा बहाल रहने समयसीमा दुई कार्यकालका लागि सन् १९९० को दशकमा तय गरेको थियो।
राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गएको अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए।

रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।