लाहोर– आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको हो।
पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन्। पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राखेका थिए। उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गरेका थिए।
आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी प्रहरीलाई जिम्मा लगाइएको छ।
घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन्। पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिदले आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।
यसअघि शनिबार पनि एक व्यक्तिले पाकिस्तानका विदेशमन्त्री खावाजा असिफलाई शरीफको दलको सम्मेलन भइरहेको स्थलमा मसी दलेका थिए। गत फेब्रुवरी २४ गते पनि पाकिस्तानी गृह, योजना विकास तथा सुधार मन्त्री अहसान एकवालमाथि सार्वजनिक सम्वोधनका क्रममा जुत्ता प्रहार भएको थियो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।