बुटवल– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाँच नम्बर प्रदेशलाई मिनी नेपालको रुपमा विकास गर्ने बताएका छन्।
मुख्यमन्त्री पोखरेलले आइतबार प्रदेशसभामा विश्वासको मत माग्दै पाँच नम्बर प्रदेशलाई नमुना प्रदेशको रुपमा विकास गरिने बताए। उनले प्रदेशको समृद्धि र विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने बताउँदै जनताको पुँजी परिचालन र निजी क्षेत्रको सहभागितामा विकासको यात्रामा अघि बढ्ने उल्लेख गरे।
मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन र औद्योगिक क्षेत्रको एकसाथ विकास गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशका उपमहानगरहरुलाई जोडेर महानगर बनाई महानगरमा आधारित उत्पादनसम्बन्धी पकेट क्षेत्रहरु निर्माण गर्ने बताए। उनले हरेक शहरहरुको आफ्नै पहिचान स्थापित गर्ने बताउँदै हरेक शहरको मौलिकता झल्किने खालको आर्किटेक्चर तयार पारेर कार्यान्वयनमा ल्याउने समेत उल्लेख गरे।
मुख्यमन्त्री पोखरेलले सम्बोधनका क्रममा पहिचान र सम्भावनायुक्त प्रदेशको रुपमा विकास गर्ने बताए।
‘अहिले हामी आर्थिक विकासका हिसाबले चौथो स्थानमाा छौं’, उनले भने, ‘हामी पहिलो स्थानमा आउने गरी काम गर्नेछौं।’
संसदमा करिब एक घन्टा लामो सम्बोधन गरेका मुख्यमन्त्री पोखरेलले चिनियाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने समेत बताए। उनले रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावनाको पनि चर्चा गरे।
पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा विविधता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले सबै जिल्लाको मानव विकास सूचकांक बराबर स्थितिमा पुर्याउने बताए। उनले पूर्व–पश्चिम राजमार्गलाई ६ लेन र हुलाकी राजमार्गलाई ४ लेनको बनाउन जरुरी रहेको भन्दै सडक सञ्जाललाई प्रभावकारी ढंगले विस्तार गर्न जरुरी रहेको बताए। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थन निमार्ण कार्यलाई समयमै पूरा गर्न अनुगमनलाई प्रभावकारी बनाउने उनले जानकारी दिए।
मुख्यमन्त्री पोखरेललाई समर्थन गर्दै सांसदहरु सरस्वती गौतम, इन्द्रजीत थारु, सहर्षराम यादव, तारा जिसीले पाँच नम्बर प्रदेशका लागि सरकार र संसदले प्रभावकारी काम गर्नुपर्ने बताए। यस्तै, कांग्रेस सांसद बैजनाथ जयसवालले प्रदेशको विकासका लागि शान्ति सुरक्षा र युवा रोजगारमा विशेष ध्यान दिन मुख्यमन्त्रीलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।