काठमाडौं- सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार अन्त्यका लागि ऐक्यबद्धताका साथ अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।
संसदमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिँदै सांसद लिङ्देनले मुलुक विकास र समृद्धिमा अघि बढ्न भ्रष्टाचार विरुद्धको शुद्धता आवश्यक पर्ने बताए।
‘भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्यौं भने कसले पत्याउने?’ लिङ्देनले भने, ‘भ्रष्टाचारको शुद्धता आफैंभित्रबाट सुरु गरेर समृद्धिको यात्रामा अघि बढ्न आवश्यक छ।’
आफूहरुले प्राप्त गरेको सुविधा क्षणिक रहेको समेत सांसद लिङ्देनले बताए।
‘पहाडमा कोदो खान नपाएर मधेस झरेको लिम्बूको छोरा हुँ’, उनले भने, ‘सुविधा त्यागेर अगाडि जान सकियो र दृढ इच्छाशक्ति भए देशलाई अगाडि बढ्नबाट कसैले रोक्न सक्दैन।’
भ्रष्टाचार नगर्ने र हुन नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धताले आफूहरुलाई आशावादी बनाएको भन्दै उनले राष्ट्रियता र समृद्धिको यात्रामा प्रधानमन्त्रीको पक्षमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।