काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई संसदमा उपस्थित गराउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
संसद् बैठकमा राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले हिरासतमा रहेका सांसद चौधरीलाई संसदमा उपस्थित गराउनु सदनको समेत जिम्मेवारी रहेको उल्लेख गर्दै आवश्यक पहल गर्न सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन्।
कैलाली घटनाका मुख्य दोषीको अभियोगमा रेशम चौधरी हिरासतमा छन्। चौधरीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई हिजो काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ। चौधरीले भूमिगत अवस्थामै कैलालीबाट प्रतिनिधिसभा निर्वाचनमा अत्याधिक मत ल्याएर निर्वाचित भएका थिए।
राजपा अध्यक्ष मण्डलका नेता भण्डारीले चौधरीको शारीरिक अवस्था कमजोर भएको उल्लेख गर्दै गम्भीर अवस्थामा रहेका चौधरीको विषयमा सहयोग गर्न सदनसमक्ष माग गरे।
‘चौधरीको उचित स्वास्थ्य उपचारको व्यवस्था सरकारले गरोस्, उनलाई जति सक्दो चाँडो संसदमा उपस्थित गराउन सरकार र संसदले पहल गरोस’, भण्डारीले माग गरे।
चौधरीको विषयमा आवश्यक निर्णय हुन नसक्दा उनले सांसदको शपथ समेत लिन पाएका छैनन्। सोही कारण उनी आज हुने प्रधानमन्त्री निर्वाचनमा मत दिनबाट समेत वञ्चित हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।