काबुल– तालिवान विद्रोहीको आक्रमणमा परी २४ अफगान सुरक्षाकर्मीको मृत्यु भएको छ। शनिबार फराहको पश्चिम क्षेत्रस्थित बालाबुलुक जिल्लामा तालिवानविरुद्धको कारबाहीको तयारीको क्रममा सुरुक्षा फौजमाथि तालिवान लडाकुले आक्रमण गर्दा भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।
पछिल्लो केहि महिनायता अफगान सुरक्षाफौज लक्षित आक्रमणमा वृद्धि हुँदै गएको छ।
इरानको सीमावर्ती इलाका फराह प्रान्तलाई पश्चिम अफगानिस्तानमा अफिम उत्पादनको केन्द्रको रुपमा चिनिन्छ।
फराह प्रान्तमा २ साताको अन्तरमा अफगान सुरक्षा फौजमाथि भएको यो दोस्रो हमला हो। यसअघि तालिवान समूहको आक्रमणमा २२ सेनाको मृत्यु भएको थियो।
उता रक्षा मन्त्रालयका प्रवक्ता दौलत वाजिरीले भने पछिल्लो मुडभेडमा परी अफगान सेनाको विशेष बलका ४ जवानको मृत्यु भएको पुष्टि गरेका छन्।
स्थानीय प्रान्तीय परिषदका प्रमुख फरिद बख्तवारले सो आक्रमणपछि अफगानी सेनाले गरेको हवाई हमलामा २५ विद्रोही लडाकुको मृत्यु भएको दावि गरे।
४ दिन अघि मात्रै एक तालिवान समूहका प्रवक्ताले ट्विट गर्दै सरकारी सुरक्षा फौजमाथि भएका पछिल्लो हमलामा ५३ जना सैनिकको मृत्यु भएको र केहि घाइते समेत भएको जनाएका थिए।
सन् २०१४ मा अफगानिस्तानबाट विदेशी सुरक्षा फौज फिर्ता हुन थालेपछि तालिवान समूह बलियो भएको र आक्रमणको अनुपातमा समेत वृद्धि भएको बिबिसीको एक अध्ययनले देखाएको छ।
अध्ययनका अनुसार पछिल्लो समय अफगानिस्तानको करिब ७० प्रतिशत भु–भागमा तालिवान समूहको गतिविधी बढेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।