मड्रिड– भेनेजुयलाको राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी हेन्री फाल्कनले सत्तासिन राष्ट्रपति निकोलास माडुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफुले गरेको मागलाई अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताएका छन्।
शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ वर्षीय प्रतिपक्षी नेता फाल्कनले भने, ‘निर्वाचनलाई स्वतन्त्र र स्वच्छ बनाउन अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाले अनुगमन र्गाुपर्छ।’
दोस्रो पटक छ वर्षको कार्यकालका लागि पुनः प्रतिस्पर्धा गर्ने जनाएका माडुरोले निर्वाचन आफ्नो पकडमा पार्न विभिन्न हतकण्डा अपनाउन सक्ने विश्वासमा प्रतिपक्षी गठबन्धन वर्तमान् राष्ट्रपति र प्रशासनप्रति सशङ्कित देखिएको बताए।
स्पेनी पत्रिका एल पाइससँगको कुराकानीमा उनले भने,‘हामी चाहन्छौँ कि आगामी मे २० मा हुने निर्वाचन सन् २०१५ को मतदानभन्दा पारदर्शी हुनुपर्छ अन्यथा हाम्रो गठबन्धन यो दौडबाट बाहिरिने छ।’
‘यस सन्दर्भमा मैले छिट्टै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथ्रेससँग कुराकानी गर्नेछु र भेनेजुयलाको निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन विशेष भूमिका निभाउन आग्रह गर्नेछु’, फाल्कनले भने।
गत फेब्रुवरीमा यो गठबन्धनले निर्वाचन स्वच्छ प्रतिस्पर्धात्मक बनाउनेमा शंका व्यक्त गर्दै उनले निर्वाचनमा सहभागिता नजनाउने बताएका थिए।
प्रतिपक्षले निर्वाचनलाई सन् २०१८ को दोस्रो खण्डमा गरिनुपर्ने, सन्तुलित राष्ट्रिय निर्वाचन आयोगको नेतृत्वमा हुनुपर्ने र अन्तर्राष्ट्रिय पर्यवेक्षकद्वारा अनुगमन गरिनुपर्ने लगायतका माग अघि सार्दै आएको छ। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।