जेनेभा– म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बङ्गलादेश पुगेका लाखौँ रोहिंग्या शरणार्थीहरूका लागि मानवीय सहायता पुर्याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ।
स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा सहयोगका लागि औपचारिक आह्वान गरिने संयुक्त राष्ट्रसंघीय प्रतिनिधिले जनाएका छन्।
संयुक्त राष्ट्रसंघका आवासीय संयोजक मिया सेप्पोले भने,‘शरणार्थीहरूलाई पूर्ण रूपमा घर फर्काउन अझ कति समय लाग्छ भन्ने लेखाजोखा हुनसकेको छैन। त्यसैले खानेकुरा, आश्रय, सरसफाइ तथा स्वास्थ्य सेवा रोहिंग्या शरणार्थीहरूलाई प्रदान गर्नका लागि राष्ट्रसंघले ताजा आह्वान गर्दैछ।’
ठूलो संख्यामा बंगलादेश प्रवेश गरेका शरणार्थीका कारण स्थानीय मानिसहरु तथा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई सीमित पार्न चाहेको पनि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सेप्पोले उल्लेख गरे।
सात लाखभन्दा बढी शरणार्थीहरूले बङ्गलादेशको सीमा नजिकका क्षेत्रहरुमा तयार गरिएका शिविरहरूमा आश्रय लिइ बसिरहेका छन्। म्यानमारको राखिन राज्यमा सैन्य कारबाही चर्किएपछि धेरैजसो शरणार्थीहरूले थोरै सरसामान बोकेर बङ्गलादेश प्रवेश गरेका थिए र बाँच्नका लागि पूर्णतः उनीहरू सहायता निकायहरूमाथि नै निर्भर छन्।
गत वर्षको अन्त्यमा रोहिंग्या शरणार्थीहरूको घरफिर्तीका लागि बङ्गलादेश र म्यानमारबीच एउटा सम्झौता भएको थियो तर बहिर्गमन प्रक्रियाले उल्लेख्य सफलता भने पाउन सकिरहेको छैन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।