द हेग– अमेरिकी डेमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका विषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताएकी छन्।
उनले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कुटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको आरोप लगाइन्।
‘यदि तपाई किम जोङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्न चाहनुहुन्छ भने अनुभवी कुटनीतिज्ञको खाँचो पर्छ।’, पूर्व विदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भनिन्, ‘वार्तामा सहभागी हुने उत्तर कोरियाली सदस्य विश्वको कानून तथा राजनीतिका ज्ञाता हुनेछन् तर कुन अमेरिकीले उनीहरूको भाषा बुझ्न सक्छ?
क्लिन्टनले थपिन्,‘अमेरिकी विदेश विभागलाई पछिल्लो समय कमजोर बनाइएको छ, जसका कारण उत्तर कोरियाली विषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ। किनकि धेरै अनुभवी कुटनीतिज्ञले विभाग छोडिसकेका छन्।’
कुटनीतिज्ञविना वार्तामा निखार ल्याउन सम्भव नरहेको तर्क गर्दै उनले सो खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो आफुलाई नलागेको जीकिर गरिन्।
क्लिन्टनको भनाई यसअघि संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत बिल रिचार्डसनले भनेजस्तै उत्तर कोरियासँग वार्ता गर्ने कुरा टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो नभएको भन्ने प्रतिक्रियासँग मिल्ने गरी आएको छ।
‘यो वास्तविक मौका हो। मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहिनता देखेर दुःख लागेको छ’,रिचार्डसनले यसै सन्दर्भमा गत शुक्रबार एएफपीसँग वार्ताका क्रममा बताएका थिए।
रिचार्डसनले भने,‘तर यो ‘तालिम लिने वा ‘प्रत्यक्ष टेलिभिजन कार्यक्रम होइन। यो एक तरङ्गी नेता, जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ, सँग गरिने वार्ता हो।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।