काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ। अाज बस्ने प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीले विश्वासको मत लिनेछन्।
अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने बताए। संविधान संशोधनमा र प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको मुद्दाका विषयमा पनि सरकारसँग सकारात्मक छलफल भइरहेको उनले बताए।
सदस्य यादवले ६ प्रदेशमा वाम गठबन्धनको र प्रदेश २ मा आफूहरुको सरकार गठन भइसकेको अवस्थामा सोहीबमोजिम अगाडि बढ्ने विश्वास व्यक्त गरे।
शनिबार बसेको संसद बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले प्रधानमन्त्रीको विश्वासको मतबारे जानकारी गराएका थिए।
नेपालको संविधानको धारा ७६ को उपधारा ४ मा कुनै दलको स्पष्ट बहुमत नभएको खण्डमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। ओली गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।