बुटवल– तिलोत्तमा नगरपालिकाले स्थानीय कानुनहरुको सँगालो प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ। नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका र कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित भएपछि नगरपालिकाले त्यसको जानकारी संघीय सरकारलाई गराएको हो।
फागुन ६ गते राजपत्रमा प्रकाशित स्थानीय कानुन नगरपालिकाले फागुन ९ गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको थियो। स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ को उपदफा ४ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड प्रदेश सरकार र नेपाल सरकारलाई पठाउनुपर्ने व्यवस्था छ।
सोही व्यवस्था अनुसार तिलोत्तमाले स्थानीय कानुन राजपत्रमा प्रकाशित गरी त्यसको जानकारी नेपाल सरकारलाई गराएको हो। स्थानीय कानुनको सँगालो बुझाउन तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, कार्यपालिका सदस्य तथा प्रवक्ता सुरेन्द्र श्री, प्रेस सल्लाहकार बिपी गौतम, नगर प्रमुखका स्वकीय सचिव विष्णुप्रसाद अर्यालसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो।
स्थानीय कानुनको सँगालो बुझ्दै प्रधानमन्त्री ओलीले कानुन निर्माणमा तिलोत्तमाले देखाएको तदारुकता प्रशंसनीय रहेको बताए। नगरप्रमुख घिमिरेले नगरपालिकाले अघि सारेका विकासका ठूला आयोजनाका बारेमा जानकारी गराउँदै त्यसमा सघाउन प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका छन्।
त्यसअघि नगरपालिकाको टोलीले स्थानीय कानुन मुख्य सचिव लोकदर्शन रेग्मी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेलाई हस्तान्तरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।