गीत सुरु हुनुअघि पृष्ठभूमिमा गायक पुष्पन प्रधानको आवाज सुनिन्छ, ‘संसारमा हरेक मान्छे विशेष हुन्छन्, यस्तो मलाई लाग्छ। जसरी माया गर्ने मान्छे, जसरी मनपर्ने मान्छे विशेष लाग्छ, त्यसरी मन नपर्ने मान्छे पनि विशेष हुन्छ। आउनुस्, आज हजुरहरूलाई म विशेष मान्छेको गीत सुनाउँछु- एउटा झुर मान्छे। जो सबैको जीवनमा हुन्छ। म पनि हुनसक्छु कसैको जीवनको झुर मान्छे। तर जे होस् हरेक मान्छे विशेष हुन्छ।’
गीतको भिडियोमा त्यो ‘झुर मान्छे’को प्रतिनिधित्व कलाकार आर्जेश रेग्मीले गरेका छन्। तर, यो गीत सुन्दा लाग्छ, सर्जकले एउटा व्यक्तिको कथामात्रै भनिरहेका छैनन्, सरल ढंगमा आम नेपाली प्रवृत्ति भन्न खोजिरहेका छन्।
यो गीतका गीतकार र संगीतकार दुवै हुन्, सङ्गीत श्रोता। सङ्गीत र पुष्पनबीच यो पहिलो सहकार्य हो। तर, दुवैबीच एउटा समानता के छ भने दुवै सङ्गीतका मामिलामा गम्भीर छन्। हल्काफुल्का गीत सिर्जनामा रुचि राख्दैनन्। दुवैलाई लाग्छ, गीत गाउनु या सिर्जना गर्नुको खास अर्थ हुनुपर्छ।
सङ्गीत भन्छन्, ‘‘एउटा झुर मान्छे’ कुनै एउटा व्यक्तिमा केन्द्रित भएर लेखिएको गीत होइन। आम प्रवृत्तीलाई लक्षित गरेर लेखिएको गीत हो।’
उनले यो गीतमा आफ्नै गुण पनि भेट्टाउने बताउँछन्। ‘हामीकहाँ यस्ता धेरै मान्छे छन् जसलाई यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने लाग्छ,’ गीत लेख्नु कारण खुलाउँदै उनी भन्छन्, ‘धेरै छन्, जो कुनै काममा डुबेर लाग्न पाउँदैनन्। इच्छामात्रै भएर पनि नहुने। बाध्यताले मान्छेलाई सतही र अवसरवादी बनाइदिने रहेछ। मैले पनि धेरै यस्ता साथी झेले जो हावा र टपरटुइया छन्। एउटा त म आफै पनि हुँ।’
सङ्गीतलाई लाग्छ, मान्छेलाई यसरी ‘झुर’ हाम्रै सामाजिक आर्थिक परिस्थितिले बनाउँछ। ‘घरी विदेश जान मन लाग्ने, घरी पत्रकारिता नै गरौं कि भन्ने लाग्ने, घरी के घरी के,’ यस्तै प्रवृत्ति देख्दादेख्दै सङ्गीतले यो गीत सिर्जना गरेको बताए।
गीतले हाम्रो समाजमा हामीलाई नेतृत्व गरिरहेका अगुवा, शासक, प्रशासक सबैलाई प्रतिकात्मक रुपमा व्यंग्य गरिरहेजस्तो लाग्छ।
एउटा झुर मान्छे छ,
झुर साह्रै झुर
झुर–झुर, झुरर–झुरर हो, झुरेस्ट
यस्तो पनि गर्छु भन्छ
उस्तो पनि गर्छु भन्छ
काम भने झुर गर्छ
एउटा झुर मान्छे छ
०००
सङ्गीतले खासमा ८ वर्षअघि सिर्जना गरेको गीत हो यो। बजारमा रेकर्ड नै गर्छु भनेर सिर्जना गरेका थिएनन्। साथीहरु बीच गाउन, रमाइलो गर्न बनाएका थिए।
त्यसैले बजारमा केही दिनअघिमात्रै रिलिज भएको गीत सङ्गीतको ‘क्लोज सर्कल’मा भने उहिल्यै ‘सुपरहिट’ भइसकेको थियो। कवि विनोदविक्रम केसी, निबन्धकार दीपक सापकोटा, विमल आचार्य, गुरुङ सुशान्त लगायत उनका नजिकका सहकर्मीमाझ चिया पसलमा टेबल ठट्टाउँदै वर्षौ अघिदेखि उनले यो गीत उनले गाउँदै आइरहेका थिए।
तर बजारमा ल्याएका थिएनन्। अझै ल्याउने मन थिएन। तर पुष्पनको रुचिका कारण यो गीत अहिले बाहिर आयो।
०००
एक वर्षअघि नेपाल आइडलको स्टेजमा प्रतिष्पर्धी अमित बरालले ‘पन्छी’ बोलको गीत गाएपछि भारतस्थित पश्चिम बंगालका पुष्पन एकाएक चर्चामा आए। कारण, पाँच वर्षअघि नै सङ्गीतको दुनियाँमा उडेको उनको ‘पन्छी’ त्यतिबेला एकाएक ठूलो संख्याका श्रोतामाझ फरफराएका थियो।
त्यसपछि दर्शक/श्रोताले उनका गीत खोजी/खोजी सुन्न थाले। त्यही क्रममा पुष्पन र सङ्गीतबीच भेटघाटको मौका जुर्यो। पत्रकारिता र साहित्यमा समेत सक्रिय सङ्गीत ‘गीत रेकर्ड गरिहालौं, प्रचार गरिहालौं’ भन्ने मानसिकतामा थिएनन्। त्यसैले त काठमाडौं आइपुगेको ८ वर्ष भइसक्दा पनि उनको आफ्नै लगानी र पहलमा एउटा पनि गीत रेकर्ड भएको थिएन। केही भएको थियो तर उनको पहलमा थिएन।
सङ्गीतलाई गीतका कारण हिट बन्ने, बजारमा धमाका पिट्ने कुनै सोख थिएन। कुनैै बेला थियो भने सायद त्यो बाल्यकालमै थियो।
जब सङ्गीतले पुष्पनको ‘ठूल्दाजु’ बोलको गीत सुने, त्यसपछि उनलाई पुष्पनप्रति विश्वास जागेर आयो। लाग्यो, ‘पुष्पन साँच्चिकै सङ्गीतलाई सिरियस भएर सोच्ने मान्छे रहेछ।’
त्यसपछि दुवैले सहकार्य गर्ने निधो गरे। सङ्गीतले वर्षौदेखि सिर्जना गरेर सार्वजनिक नगरेका गीतहरु पुष्पनलाई सुनाए। तिमध्ये पाँच गीत पुष्पनले औधि रुचाए।
पुष्पनले खास रोजेको गीतहरू अरु नै थिए तर सङ्गीत ती गीतहरू पूर्ण रुपमा बजारमा ल्याउन तयार थिएनन्। कारण, कम्पोजिसनमा अझै केही काम गर्न बाँकी थियो। त्यसपछि पुष्पनले रोजे– ‘एउटा झुर मान्छे।’
‘यो पुष्पनले रोजेका कारण बाहिर सार्वजनिक भएको गीत हो,’ अहिले सङ्गीत सुनाउँछन्।
खासमा सङ्गीत र पुष्पन दुवैले औधी रुचाएको गीत थियो– ‘जो किताबमा छैन...’। अघिल्लो वर्ष झापाको काकडभिट्टामा आयोजित कला–साहित्य महोत्सवमा त्यो गीतलाई उद्घाटन गीतका रुपमा प्रस्तुत गरिएको थियो।
‘तिमी चिन्दैनौ कोही
जो किताबमा छैन
उ त्यही मान्छे हो
जो तिम्रो हिसाबमा छैन...
‘यो गीतमा कम्पोजका हिसाबले केही काम गर्न बाँकी भएकाले मैले पछि गरौं भनेको हो,’ सङ्गीतले सुनाए।
०००
यता के के हुँदैछ, त्यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा
हामी भयौं बेघरबार, हामी भयौं बेघरबार
चरी लैजा समाचार, हामी भयौं बेघरबार...
६ वर्षअघि हिट्स म्युजिक अवार्डमा उत्कृष्ट लोक गीतका रुपमा पुरस्कृत भएको गीतको अंश हो यो। त्योभन्दा पनि महत्वपूर्ण हरेक वर्ष जबजब देशमा बाढीपहिरो आउँछ, तबतब रेडियो, टिभी र युट्युबमा खुब बजिरहने गीत हो यो।
गायक अन्जान बाबुले गाएको यो गीतलाई पनि सङ्गीत श्रोताले नै लेखेका हुन्। सङ्गीत सिर्जना पनि उनकै हो। यो गीतमा नेपाली समाजको एउटा वर्गको दुःख अभिव्यक्त छ।
‘त्यतिबेला कोशी ब्यारेज खनिएर ठूलो बाढी आइरहेको थियो,‘ २०६५ सालमा लेखिएको गीतबारे खोतल्दा उनले सम्झिए, ‘हजारौं मान्छे विस्थापित भइरहेका थिए, घरबारबिहीन भइरहेका थिए। उनीहरूको दुःखको कथा मैले गीतमा अभिव्यक्त गरेको हुँ।’
हिट्स म्युजि अवार्डमा सङ्गीतको यो गीतमात्रै होइन, लगातार तीन वर्ष तीन गीत उत्कृष्ट घोषित भए। संयोग त के भने उनका तीनवटै गीत अन्जानबाबुले गाएका हुन्। अन्जान र सङ्गीत पर्वतको बाजुङस्थित एउँटै गाउँमा हुर्किएका मिल्ने साथी हुन्।
पुरस्कृत भएका अन्य दुई गीत हुन्, ‘फर्क दाजै बर्खा लायो’ र ‘गुराँस फुले हो रातै’ जहाँ गरिखाने नेपालीको बाध्यता झल्किन्छ। यी दुइटै गीत सङ्गीतले २०५९ सालतिर लेखेका हुन्।
०००
सङ्गीत आफ्ना गीतलाई गतिला भन्न रुचाउँदैनन्, मात्रै सरदर ठान्छन्। त्यसोभए लगालग हिट्स अवार्डमा कसरी उत्कृष्ट भयो होला? यसको प्रष्ट जवाफ छ उनीसँग, ‘हाम्रोजस्तो सरदर गीत त्यहाँ हिट हुनुको कारण सायद त्योभन्दा गतिलो गीत त्यो अवार्डमा सहभागी नभएर हो। गीत भनेको योभन्दा पनि राम्रो हुनुपर्थ्यो र हुनुपर्छ।’
नेपाली सङ्गीत वृत्तमा ‘चर्चित’ भनिने परिभाषा र कोटीमा उनी पर्दैनन्। तर भुइँमान्छेका पक्षमा गीत लेखिरहन रुचाउँछन्। उनलाई लाग्छ, हामीकहाँ काम गरिखाने मान्छेका गीतहरू लेखिँदैनन्।
'उठ, जाग र लडौं’टाइपका जनवादी गीत पनि छन्। ‘तिमी र म नजिक हुन पाए हुन्थ्यो’ भन्ने टाइपका प्रेम र वियोगका गीतहरुको हिस्सा पनि ठूलो नै छ,’ उनी भन्छन्, ‘तर, मजदुर, किसान, बालबच्चा, बुढाबुढी सबैका जीवन गीतमा आउन सकेका छैनन्। रातभरि कारखाना, होटल, रेष्टुरेन्ट लगायतमा काम गर्ने मजदुरका गीत कहाँ छन् जहाँ उनीहरूले आफ्नो जीवन महशुस गरुन्, अनि बजाउन सकुन्?’
उनी यत्तिमै रोकिएनन्। अझै प्रश्न गरिरहे,‘काठमाडौंको कालिमाटीमा बिहान ३ बजे आइपुग्ने ताजा तरकारी हाम्रो हातमा ८ बजे आइपुग्छ। त्यसका लागि अघिल्लो दिनदेखि नै काम भइरहेको हुन्छ। दशकौं दशक यो क्रम चलिरहेका छ। तर यसरी काम गर्ने उनीहरूको जीवन हाम्रा गीतमा खोइ? हामीसँग तरकारी बेच्नेको गीत खोइ? रातभरि मुला धुनेका गीत खोइ? त्यसैले म भन्छु, हामीकहाँ जनजीवनका आम गीतहरूको ठूलो अभाव छ। अब संगीतकार, गीतकार र गायकहरूले त्यसमा काम गर्नुपर्ने बेला भएको छ।’
केही यस्ता गीतहरूमा आफूले पनि काम गरिरहेको बताउँछन् उनी।
०००
एसएलसी दिएपछिका १० वर्ष सङ्गीतले गाउँमै बिताए। उनले गाउँमा मासिक पत्रिका निकाल्नेदेखि स्कुलमा पढाउनेसम्मको काम गरे। त्यसपछि २०६५ सालमा उनी काठमाडौं आइपुगे। अनि कवितासंग्रह नै निकाले, ‘म काठमाडौं आइपुगें’। अहिले बजारमा कवि र लेखकका रूपमा उनको बलियो परिचय बनिसकेको छ।
तर उनको संगीत रुचिबारे धेरै दर्शक/श्रोतालाई थाहा छैन। भलै उनका गीतबारे थाहा भएको हुनसक्छ। उनका अधिकांश गीतहरू लोकलयमा आधारित छन्। आफूले समाज, मान्छे र समयलाई जसरी बुझ्छन्, त्यसलाई उनले गीतमार्फत अभिव्यक्त गर्छन्।
लाग्छ, बजारमा आइरहेका मूलधारका गीतभन्दा फरक र अर्थपूर्ण छन् उनका गीतहरु। उनका गीतमा चेतना हुन्छ, मान्छेका दुःखसुख हुन्छन्। मौलिकता हुन्छ। समाजको यथार्थ हुन्छ। तैपनि बजारमा खासै चर्चा सुनिँदैन। न उनी प्रचारप्रसार नै गर्छन्।
सङ्गीतलाई यस्तो किन भनेर सोध्यो भने जवाफमा उनी मुस्कुराउँदै भन्छन्, ‘यी गीत त्यति चर्चित हुने स्तरका छैनन्। किनकि, जस्ता गीत बजारमा चर्चित भइरहेका छन्, त्यस्ता गीत होइनन् यी। त्यसैले यी गीतका चर्चा र प्रचार नहुनु स्वाभाविक हो। फेरि हामी आफ्ना गीत बजाइमाग्न रेडियोका ढोका–ढोका चहार्ने पनि गर्दैनौं।’
सङ्गीतको खास नाम यम क्षेत्री हो। तर, उनले बच्चाबेलामै आफ्नो नाम सङ्गीत श्रोता राखे। ‘यस्तो किन?’ उनी भन्छन्,‘सङ्गीतप्रतिको मेरो अनुराग र प्रेमलाई अभिव्यक्त गर्नलाई मैले बच्चा बेलामा राखेको नाम हो यो। त्यतिबेला मेरो सपना थियो सङ्गीत। स्कुल, गाउँ-घर जताततै गाउँथेँ। त्यही बेला मैले यो नाम राखेको थिएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।