विराटनगर– लगातार ५ वटा बैठक सम्पन्न हुँदा समेत प्रदेश १ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो लागेको छैन। यो विषयले अर्को बैठकमा पनि प्रवेश नपाउने सभामुख प्रदीपकुमार भण्डारीले संकेत गरेका छन्। प्रदेशसभाको छैटौं बैठक चैत ७ का लागि तोकिएको छ।
कार्यव्यवस्था परामर्स समितिको बैठक अझै नबसेको र मस्यौदा नियमावली समितिले पेश गर्ने एजेन्डामाथि अबको बैठक केन्द्रित हुने भएकाले छैटौं बैठकमा पनि राजधानी र नामको विषयले प्रवेश नपाउने भण्डारीले बताए।
‘प्रारम्भिक काम नभई विधिसम्वत् काम गर्न समय लाग्दो रहेछ,’ पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले भने, ‘प्राथमिकताका आधारमा कार्यविधि अनुसार मुख्य विषयले पनि प्रवेश पाउँछ। ढिलोचाँडो स्थायी राजधानी र नामाकरणको विषय पनि टुंगो लाग्छ।’
‘पदीय हैसियतले मैले यो र त्यो भन्न मिल्दैन,’ सभामुख भण्डारीले भने, ‘कार्यविधि अनुसार माननीयहरुले आफ्नो स्वतन्त्र अधिकार प्रयोग गरेर सोलुदेखि, संखुवासभा, ताप्लेजुङसम्मका जनतालाई पायक पर्ने गरी आफ्नो मत जाहेर गर्नु हुनेछ र सोही अनुसार निर्णय हुनेमा म विश्वस्त छु।’
प्रदेशको नाम र राजधानीका विषयमा आवश्यक गृहकार्य नै नभएको बताउँदै सभामुख भण्डारीले सबैलाई मान्य हुनेगरी प्रदेशसभाले उचित समयमा स्थायी राजधानी र नामको विषयमा निर्णय लिने बताए।
राजधानी र नामाकरणको विषयमा प्रदेश १ मा विवाद भने देखिएको छ। धनकुटा, धरान, इटहरी लगायतका स्थानमा राजधानी र सगरमाथा, किराँत–लिम्बुवान, विराट, कोशी, सिरिजंगा लगायतका नाममा बहस भइरहेका छन्।
संविधानले प्रदेशसभाको दुई तिहाई मतले स्थायी राजधानी र नामांकनको विषय टुंगो लगाउन सक्ने व्यवस्था गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।