काठमाडौँ- खानी तथा भूगर्भ विभागले मुलुकका विभिन्न ७ क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्नेभएको छ।
लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी ७ चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि रु ३ करोड ९० लाख बजेट विनियोजन गरिएको छ।
पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्युठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौँथोमा अछाम, दैलेख र कालिकोट, पाँचौमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गरिने भएको छ। विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताए।
'अध्ययनपछि धातु र अधातु केके छ भनेर अध्ययन गर्छौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ,' उहाँले भन्नुभयो।
विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।