दमासकस– हिंसा जारी रहेको पूर्वी सिरियाको एक द्वन्द्वग्रस्त क्षेत्र गुटामा शुक्रबार पनि अत्यावश्यक मानवीय सहायता सामाग्रीहरु नपुगेको बताइएको छ।
राष्ट्रसंघीय अधिकारीहरुले सो क्षेत्रमा ठूलो मात्रामा सहायता सामाग्रीको खाँचो रहेको बताएका छन्। तर पनि निकै लामो समयदेखि यहाँ सहयोग सामाग्री पुर्याउन सकिएको छैन।
प्रायः विद्रोहीहरूको नियन्त्रण रहेको बताउँदै आइएको उक्त क्षेत्रमा सिरियाली सेनाले हवाई आक्रमण रोकेको छैन।
प्राप्त विवरणहरूका अनुसार उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय रेडक्रसले बिहीबार पनि सहायता सामाग्री पुर्याउन सकेको थिएन। शुक्रबारका लागि गरिएको तयारी पनि असफल भएको बताएको छ।
रेडक्रसले भनेको छ– शुक्रबार पनि खतरापूर्ण अवस्था रहेको छ। गएराति भएका आक्रमणहरुमा पनि कैयौँ गैरसैनिक नागरिक मारिएको बताइएको छ।
ब्रिटेनमा मुख्यालय रहेको एक अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गए रातिका आक्रमणहरुका घटनामा परी ६० जनाभन्दा बढीको ज्यान गएको बताएको छ।
रुसी सेनाको समेत सहयोगमा सिरियाको सरकारी फौजले त्यहाँ एक महिनायता निरन्तर रुपमा विद्रोहीलक्षित भन्दै आक्रमणलाई तीव्र पारेको छ।
सिरियाले अल कायदाको नजिक रहेका मानिने लडाकूरूलाई धपाउन भन्दै आक्रमण गरेको सिरियाली सरकारी सेनाले दाबी गरेको छ।
तर संयुक्त राष्ट्रसंघले भने यहाँ जारी रहेका यस्ता आक्रमणहरूमा सयौँ सर्वसाधारण तथा बालबालिका पनि मारिएको विवरण प्रकाशमा आएको जनाएको छ। उसले यस्ता क्रियाकलापहरु रोक्न सिरियालाई बारम्बार आग्रह गर्दै आएको छ।
महिना दिनयता जारी राखेको कारबाहीका क्रममा पूर्वी गुटाको आधाजसो भू–भाग नियन्त्रणमा लिइसकेको सिरियाली सरकार समर्थित फौजले जानकारी दिएको छ।
गत साता राष्ट्रसंघले युद्धविरामको माग गरेपनि यहाँ युद्धविराम लागू भएको छैन। राष्ट्रसंघीय सुरक्षा परिषद्ले गुटाको अवस्था अत्यन्तै नाजुक भएको भन्दै युद्धविरामका लागि छलफल गर्दै आएको छ।
सिरियामा पछिल्लो सात वर्षदेखि हिंसा जारी छ। जसका कारण चार लाखभन्दा बढी नागरिक मारिएका छन् भने अरु लाखौँ नागरिक शरणार्थी बन्न पुगेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।