वासिंगटन डिसी– स्टिल र आल्मुनियममा भारी मात्रामा कर बढाउने विवादास्पद निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। तर केहि देशका लागि भने छुट दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्याइट हाउसले जनाएको छ।
बिहिबार सो योजनामा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले भने,‘अमेरिका अन्यायपूर्ण व्यापारबाट ग्रसित छ। यो निर्णयले अमेरिकी उद्योगलाई प्रोत्साहन गर्नेछ। शक्ति दिनेछ।’
तर अमेरिकामा भने सो निर्णयको आलोचना भइरहेको छ। अर्थविद्हरुले नयाँ व्यापार युद्धको थालनी हुनसक्ने चेतावनी समेत दिएका छन्।
उक्त निर्णयको असर आगामी १५ दिनभित्र देखा परिसक्ने बताइएको छ। सो करको दायरामा क्यानडा र मेक्सिकोलाई भने छुट दिइएको छ। अमेरिका भित्रिने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा भने १० प्रतिशतसम्मले कर बढाइएको छ।
ट्रम्पको सो योजनाको सत्तारुढ दलका नेताहरुले नै विरोध गरेका छन्। उता अमेरिकाका लागि प्रमुख व्यापार साझेदारहरुले पनि असन्तुष्टि व्यक्त गरेको समाचारमा जनाइएको छ।
ट्रम्पका आलोचकको रुपमा देखिँदै आएका रिपब्लिकन सांसद जेफ फ्लेकले सो निर्णयको विराध गर्दै भने,‘कर वृद्धिको योजनामा रहेका असामान्य नियमहरुलाई संसोधन गरिए मात्रै व्यापार युद्ध हुनेछैन।’
सभामुख पल रायनले ट्रम्पको निर्णयप्रति फरक मत राख्दै यसको परिणाम डरलाग्दो हुनसम्ने आशंका व्यक्त गरे।
अमेरिकी राष्ट्रपतिको हस्ताक्षरपछि युरोपियन युनियन, फ्रान्स, बेलायत तथा अन्य शक्ति राष्ट्रहरुले सो योजनालाई फिर्ता लिनुपर्ने मत राखेका छन्।
हाल अमेरिकी स्टिल तथा आल्मुनियम कारखानामा कामदरहरुलाई नियुक्त गर्न सुरु गरिएको बताइएको छ।
सम्बोधनका क्रममा राष्ट्रपति चुनावमा उनीहरुको भुूमीका महत्वपूर्ण रहेको बताउँदै ट्रम्पले कामदारहरु अमेरिकाका मेरुदण्ड भएको जिकिर गरेका थिए। ‘हालसम्म कामदारहरुलाई धोका दिइएको थियो। आफुले गरेको प्रतिज्ञाअनुसार उनीहरु अब यो योजनामा सम्मिलित हुन सक्नेछन्।’,उनले भने,‘हामीले सबैका लागि न्याय होस् भनेर सोचेका हौँ। हामीहरु अमेरिकीहरुका लागि अझै लचिलो बन्दै जानेछौँ।’
राष्ट्रपति ट्रम्पले कर वृद्धिको योजनाले अमेरिकाको सुरक्षा रणनीतिमा समेत फाइदा पुग्ने दावी गरे। उनले भने,‘हाल क्यानडा र मेक्सिकोको लागि कर छुट दिइएको छ। आवश्यकताअनुसार अमेरिकी नीतिसँग सहमत हुने राष्ट्रहरुलाई सो दायरामा ल्याउन सकिने छ।’
यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकी कामदारको सुरक्षा तथा चुनावी सभाका क्रममा गरेको स्टिल र आल्मुनियम कारखाना पुनस्र्थापना गर्ने घोषणालाई मुर्त रुप दिन भन्दै सो योजना सतहमा ल्याएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।