वासिंगटन डिसी– उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताका लागि निमन्त्रणा दिएका छन्। सो निमन्त्रणा पाए लगत्तै शुक्रबार बिहान ट्विट गर्दै राष्ट्रपति ट्रम्पले सो प्रस्ताव स्वीकार हुन सक्ने संकेत दिएका छन्।
दक्षिण कोरियाली उच्च अधिकारीले राष्ट्रपति ट्रम्पलाई उत्तरका प्रमुख नेताले दिएकाे भ्रमणको निम्तो पत्र बुझाएका थिए। यही साता किम जोम उनसँग भेट गरेर आएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनको विशेष दूतले उत्तर कोरिया आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परीक्षण रोक्न पनि सहमत भएको बताए।
अमेरिका र उत्तर कोरियाका बीचमा रहँदै आएको तनाव र वाककटुताका बीचमा उत्तरको सो निर्णयलाई महत्वपूर्ण ‘ब्रेकथ्रु’ मानिएको छ। दक्षिण कोरियाली राष्ट्रपतिको विशेष दूतसहितको टोलीले प्योङयाङमा उत्तरका नेता उनसँग गत सोमबार मात्रै करिब ४ घन्टा लामो भेट गरेको थियो।
दक्षिण कोरियाली राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहकार चुङ एइ योङको नेतृत्वमा रहेको टोलीमा ५ जना उच्च सरकारी अधिकारी तथा ५ जना सहयोगी कर्मचारी रहेका थिए।
सो टोलीमा योङका अलावा दक्षिया कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआइएस)का निर्देशक सुह हुन, सहायक एकता मन्त्री चुङ ऐइ सुङ, एनआइएसका दोस्रो कार्यकारी निर्देशक तथा राष्ट्रपति कार्यालय ब्लु हावसका उच्च अधिकारी युन कुन योङ सम्मिलित थिए।
उत्तर कोरिया भ्रमणपछि प्रमुख सुरक्षा सल्लाहकार चुङ एइ योङ, किमसँगको भेटका बारेमा जानकारी दिन हाल अमेरिकामा छन्।
यसअघि उत्तर कोरियासँग वार्ता गर्न कुनै बिन्दु फेला नपरेको बताउँदै आएका ट्रम्पले पछिल्लो समय विकासित घटनाक्रमलाई महत्वपूर्ण सफलताको संज्ञा दिएका छन्। तर जबसम्म कुनै ठोस सम्झौता हुँदैन तबसम्म उत्तरमाथिको प्रतिबन्ध नहट्ने उनले प्रस्ट पारे।
राष्ट्रपति ट्रम्पलाई भेटेपछि ह्वाइट हाउसअगाडि आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै सल्लाहकार योङले भने,‘अमेरिकी राष्ट्रपति ट्रम्पको अन्तराष्ट्रिय शक्तिहरु मिलेर एकैपटक उच्च दबाब दिने रणनितीले घटनालाई यो बिन्दुसम्म ल्याइपुर्याएको छ।’
‘भेटका क्रममा मैले राष्ट्रपति ट्रम्पलाई उत्तर कोरियाली नेता किमले आणविक कार्यक्रम बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको कुरा जानकारी गराएँ।’, पत्रकारहरुका अगाडि योङले भने, ‘यसपछिका दिनमा उत्तर कोरियाले अब कुनै पनि किसिमको परमाणु कार्यक्रम र क्षेप्यास्त्र परीक्षण नगर्ने जनाएको छ।’
उनले थपे,‘ट्रम्पले सो छलफलको प्रशंषा गर्नुभयो। उहाँले उत्तर कोरियाली नेता किम जोङ उनलाई स्थायी रुपमा नै परमाणु कार्यक्रम बन्द गर्ने सम्बन्धमा आगामि मे महिनामा भेट्ने बताउनुभयो।’
मानवअधिकारको उल्लंघन र अन्तर्राष्ट्रिय कानुनविपरीत परमाणु कार्यक्रम संचालनमा ल्याएको भन्दै पछिल्लो एक दशकदेखि उत्तर कोरियालाई अन्तर्राष्ट्रिय स्तरमा सम्मिलित गराइएको छैन।
यदि उत्तर कोरियाली नेता किमलाई राष्ट्रपति ट्रम्पले भेटेमा कुनै अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली प्रमुखसँग भेट गरेको यो इतिहासमै पहिलो अवसर हुनेछ।
सो भेट हुन सकेमा विश्वभर कुटनीतिक रुपमा हलचल ल्याउने अन्तराष्ट्रिय विज्ञहरुले अनुमान गरेका छन्।
तर दक्षिण कोरियास्थित बिबिसी रिपोर्टर लौरा बिकरले हालसम्म उत्तर कोरियाले आफ्ना परमाणु कार्यक्रमलाई बन्द गरिनसकेको तर बन्द गर्ने प्रतिबद्धता भने गरेको बताइन्।
दक्षिण कोरियाको प्योङचाङमा भएको शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागितापछि दुई कोरियाको सम्बन्धमा सुधार आएको छ। सो खेलकुदपछि दुई कोरिया निरन्तर छलफलमा छन्। जसका कारण उत्तर कोरिया र अमेरिकाबिचमा उत्कर्षमा पुगेको वाककटुता पनि साम्य हुने दिशातर्फ गएको अड्कल काटिएको छ। एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।