काठमाडौं- दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लन टेनिसमा नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन्।
सातदोबाटोस्थित लन टेनिस कोर्टमा आज भएको क्वाटरफाइनलको खेलमा नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले ३–० को सहज जित निकालेको हो। पुरुष सिंगल्समा नेपालका प्रणव खनालले मोहम्मद आलमगिरलाई ६–० र ६–१ मा हराए।
त्यस्तै संरक्षक बज्रचार्यले श्री अमोल रोयलाई हराए। पहिलो सेटमा २–६ को पराजय भोगेका संरक्षकले दोस्रो सेटमा ६–२ को जित निकाले। अन्तिम सेटमा रोय घाइते भएपछि प्रवणले जित निकाले पछि डबल्स अगावै नेपाल सेमिफाइनलमा पुग्याे।
डबल्समा नवीन पाइजा र प्रदीप खड्काको जोडीले सोझो सेटमा जित निकाल्दै नेपाललाई ३–० को जित दिलाए।
अब नेपालले भारतसँग प्रतिष्पर्धा गर्नेछ। भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ। अर्को सेमिफाइनलमा भुटान र पाकिस्तानबीच हुनेछ।
महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगे। नेपालले माल्दिभ्सलाई ३–० ले हरायो। सिंगल्समा सलोनी तामाङले आयानी मुसा कलिमलाई ६–४ र ६–० ले हराइन्। अर्को सिंगल्समा प्रेरणा कोइरालाले जिना अब्दुर रसिदलाई ६–१ र ६–३ ले पराजित गरिन्। डबल्समा रायना शाह र प्रकृति श्रेष्ठको जोडीले रिफ्गा युसुफ नजिब र मारियम हस्मा हजिबलाई ६–३ र ६–३ ले हराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।