काठमाडौं- नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ।
राष्ट्रपति पदमा वाम गठबन्धनविरुद्ध उम्मेदवार उठाउने निर्णय गरेको कांग्रेसले सभामुख पदमा भने उम्मेदवारी नदिने बताएको हो।
कांग्रेसका एक नेताका अनुसार सभामुख सिंगो सदनको नेता हुने भएकाले सो पदमा प्रतिस्पर्धा नगर्ने तयारी पार्टीले गरेको हो। ‘राष्ट्रपति पदमा समेत सोही तर्कमा भिन्नता देखिन सक्छ, त्यसको आफ्नै महत्व थियो तर सभामुख पदमा प्रतिस्पर्धा नगर्ने तयारी पार्टीको छ,’ ती नेताले भने।
वाम गठबन्धनको सहमति अनुसार सभामुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउनेछ। जसलाई एमालेले समेत समर्थन गर्ने भएपछि वाम गठबन्धनका उम्मेदवारको जित निश्चितजस्तै छ। त्यसैले समेत कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गर्न लागेको हो।
‘संसदको गणित हामी सबैलाई थाहा छ, सभामुखमा प्रतिस्पर्धा नगरौं भन्ने मनसाय हाम्रो हो,’ कांग्रेसका ती नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।