काठमाडौं- माओवादी केन्द्रले सभामुख पदमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय सचिवालय बैठकले महराको नाममा सर्वसम्मति गरेको नेता देव गुरुङले बताए। माओवादी केन्द्रबाट पटक-पटक मन्त्री भइसकेका महराले पछिल्लो समय सभामुखमा दाबी गर्दै आएका थिए। माओवादी केन्द्रभित्र महरालाई सभामुख बनाउन शीर्षस्थ नेताबीच समेत समझदारी बनेको थियो। सोही कारण नयाँ सरकारमा सहभागी हुन महराले दाबी छाडेका थिए।
सभामुख पदमा नयाँ अनुहार ल्याउने संकेत गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले यस पटक पनि सो पदमा रोल्पाली नै दोहोरिने बताएका थिए।
पूर्व सभामुख ओनसरी घर्तीले समेत सभामुख पदमा दोहोरिने इच्छा देखाउदै आएकी थिइन्। सभामुखमा देव गुरुङ, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा लगायतका नेताले दाबी गर्दै आए पनि माओवादी केन्द्रले सभामुख पदमा महरालाई अगाडि सार्ने निर्णय गरेको हो।
सभामुखको निर्वाचन भोलि शनिबार हुँदैछ। मनोनयनका लागि आज बिहान १० देखि १ बजेसम्म समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।