काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा सोमबार १३ स्पर्धामा प्रतिस्पर्धा भए। जसमा नेपाले १३ वटा खेलमा नै पदक ल्याउन सफल भएको छ।
सोमबार पुम्सेतर्फका खेलहरु भएकोमा नेपालले ७ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको हो। सातदोबाटो तेक्वान्दो हलमा पहिलो दिनको पदकले नेपाली खेलाडीहरु निकै उत्साहित छन्। कसले कुन विधामा के जिते त?
तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेतर्फ १७ वर्षमाथि २३ वर्ष मुनिको समूहमा नेपालका कृष्ण बहादुर तामाङले रजत पदक जिते। यस स्पर्धामा स्वर्ण श्रीलंकाका पेडी दुरायाल्गेले जिते। कास्य भारत र बंगलादेशका खेलाडीले जिते।
तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेको २३ वर्षमाथि २९ वर्ष तलको समूहमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जिते। यसमा भारतका खेलाडीले रजत साथै श्रीलंका र पाकिस्तानका खेलाडीले कास्य पदक जिते।
तेक्वान्दो पुरुष व्यक्तिगत पुम्सेमा २९ वर्षमाथिको समूहमा नेपालका रेजिन रिमालले कास्य पदक मात्रै जित्न सके। यसमा बंगलादेशका खेलाडीले स्वर्ण साथै श्रीलंकाका खेलाडीले रजत पदक जिते। अर्को कास्य भारतका खेलाडीले जिते।
यस्तै महिला व्यक्तिगत पुम्सेतर्फ १७ वर्षमाथि २३ वर्ष मुनिको समूहमा नेपालकी सिना मादेन लिम्बुले स्वर्ण पदक जितिन्। यसमा भारतकी खेलाडीले रजत र श्रीलंका र बंगलादेशका खेलाडीले कास्य पदक जिते।
महिला व्यक्तिगत पुम्सेतर्फ २३ वर्षमाथि २९ वर्षमुनिको समूहमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक जितिन्। यसमा श्रीलंकाकी खेलाडीले रजत साथै भारत र बंगलादेशका खेलाडीले कास्य पदक जिते।
महिला व्यक्तिगत पुम्सेको २९ वर्षमाथिको समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितिन्। यसमा भारतकी खेलाडीले रजत साथै श्रीलंका र पाकिस्तानका खेलाडीले कास्य जिते।
यस्तै तेक्वान्दोको युगल पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालका शिला थापा र कुनाल कुमारले कास्य पदक जिते। यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत जिते। अर्को कास्य पाकिस्तानले जित्यो।
युगल पुम्सेको २३ वर्षमाथि २९ वर्षमुनिको समूहमा पनि नेपालले कास्य पदक मात्रै जित्न सक्यो। यसमा नेपालका जितबहादुर बोट र पार्वती गुरुङको जोडी रहेको थियो। यसमा स्वर्ण भारतले साथै रजत श्रीलंकाले जिते। अर्को कास्य पाकिस्तानले जित्यो।
युगल पुम्सेको २९ वर्षमाथिको समूहमा नेपालले स्वर्ण पदक जित्यो। यसमा सञ्जिव कुमार ओझा र आयशा शाक्यको जोडि रहेको थियो। यसमा रजत पाकिस्तानले साथै कास्य बंगलादेश र भारतले जिते।
यस्तै तेक्वान्दो पुरुष टिम पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालले कास्य पदक जित्यो। नेपाली टिममा शिशिर श्रेष्ठ, अस्मिन राउत र दिपेन्द्र गुरुङ रहेका थिए। यसमा स्वर्ण भारतले जित्यो। रजत श्रीलंकाले जित्यो भने अर्को कास्य बंगलादेशले जित्यो।
पुरुष टिम पुम्सेको २३ वर्षमाथि २९ वर्ष तलको समूहमा नेपालले कास्य पदक नै जित्यो। यसमा कमल श्रेष्ठ, जित बहादुर बोट र प्रेम बहादुर लिम्बु रहेका थिए। यसमा स्वर्ण श्रीलंकाले साथै रजत भारतले जित्यो। अर्को कास्य पाकिस्तानले जित्यो।
यस्तै तेक्वान्दो महिला टिम पुम्से अन्तर्गत १७ वर्षमाथि २३ वर्षमुनिको समूहमा नेपालले स्वर्ण पदक जित्यो। यसमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिनाको जोडी रहेको थियो। यस स्पर्धामा रजत भारतले जित्यो। कास्य श्रीलंका र बंगलादेशले जिते।
तेक्वान्दोमा सोमबार भएको अन्तिम स्पर्धामा २३ वर्षमाथि २९ वर्षमुनिको महिला टिम पुम्सेमा नेपालले स्वर्ण पदक जित्यो। यस स्पर्धामा नेपालका निता गुरुङ, प्रसंशा क्षेत्री र सुशिला राईको जोडी सहभागी थिए। यसमा रजत श्रीलंकाले जित्यो भने कास्य पाकिस्तानले जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।