काठमाडौं- प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुखमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ।
संघीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ। त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ।
सभामुखको उम्मेदवार टुंगो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा केन्द्रीय सचिवालय समितिको बैठक बिहान सुरु भएको छ।
स्रोतका अनुसार सभामुखमा यसपटक समेत रोल्पाका उम्मेदवार हुने पक्का छ। पूर्वसभामुख ओनसरी घर्तीलाई दोहोर्याअउन नहुने भन्दै पार्टीभित्र चर्को दबाब छ। राष्ट्रपति दोहरिएसँगै सभामुखमा समेत घर्तीले दोहोरिने इच्छा देखाएकी छिन्।
रोल्पाबाटै नेता कृष्णबहादुर महराले सभामुख पदमा दाबी गरेका छन्। महरालाई सभामुख बनाउन पार्टी अध्यक्ष दाहालसमेत सकारात्मक छन्। तर पार्टीभित्र देव गुरुङ, अग्नि सापकोटा, गिरिराजमणी पोखरेल लगायतका नेताले समेत सभामुखमा दाबी गर्दै आएका छन्।
सभामुख पदमा लागि शनिबार दिउँसो १ बजे निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।