निकै तामझामका साथ आईतबार दशरथ रंगशालामा १३औं दक्षिण एशियाली खेलकुदको उद्घाटन भएसँगै देश खेलकुदमय भईसकेको छ। नेपालले पहिलो संस्करण सन् १९८४ मा, दोश्रो पटक १९९९ मा र यसपटक २०१९ मा गरी घरेलु मैदानमा साग आयोजना गरेको यो तेस्रोपटक हो।
दक्षिण एशियामा सबैभन्दा लोकप्रिय मध्येको एक खेल हो क्रिकेट। विश्वका शक्तिशाली टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टिम रहेको दक्षिण एशियामा क्रिकेटलाई सबैभन्दा लोकप्रिय खेलभन्दा गलत नहोला। क्रिकेटमा उदीयमान राष्ट्र नेपालले १३औं संस्करणको साग आयोजना गर्दैगर्दा क्रिकेट खेललाई समावेश गरेपछि पछिल्लो पटक २०१६ को सागमा क्रिकेट समावेश नहुँदाको न्यास्रो नेपालले यसपटक भने मेटाउने पक्का छ।
अन्तिम पटक सन् २०१० मा बंगलादेशले आयोजना गरेको सागमा बेहोरेको तितो हारको यथार्थ भुलाउन प्रयासरत नेपालको यसपटकको मुख्य लक्ष्य भने स्वर्ण पदक नै रहने छ। शक्तिशाली रास्ट्र भारत र पाकिस्तानले आफ्ना टिम नपठाउने भएपछि घरेलु टिम नेपाललाई एक किसिमको फाईदा भने अवस्य छ। मंसिर १७ गतेबाट बलियो प्रतिद्वन्दी श्रीलंकाविरुद्ध जीत निकाल्दै सागको स्वर्ण यात्रा शुभारम्भ गर्ने लक्ष्य बोकेको नेपाली क्रिकेट टोलीलाई श्रीलंका तथा बंगलादेश दुवै बलिया प्रतिद्वन्दीले कडा चुनौती दिने निश्चित छ। राउन्ड रोबिन फर्म्याटमा खेलिने यस टि२० प्रतियोगितामा नेपालसँगै श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरी ५ टोली रहेका छन्। प्रतियोगितामा श्रीलंका र बंगलादेशले भने टेस्ट रास्ट्रको शक्ति सन्तुलनका लागि यु२३ टिम पठाएका छन् जसमा २३ वर्ष माथिका ३ खेलाडी खेलाउन भने छुट छ।
नेपाली क्रिकेटको साग ईतिहास
सन् २०१० मा बंगलादेशमा भएको सागको सहभागितामा नेपाली क्रिकेट टोलीको प्रदर्शन विर्सनलायक नै मान्न सकिन्छ। लिगका ४ खेल र तेश्रो स्थानका लागि १ गरी कुल ५ खेलमध्ये १ खेलमात्र जित्न सफल नेपाल चौंथो स्थानमा रहेको थियो। नेपालसँग पहिलो खेलमा ८ विकेटले विजयी भएको बंगलादेशले अन्त्यमा श्रीलंकालाई फाईनलमा हराई स्वर्ण चुम्न सफल भएको थियो। दोस्रो खेलमा श्रीलंकासँग ६४ रनले पराजित भएको नेपालले तेश्रो खेलमा पाकिस्तानसँग ९१ रनले पराजित बन्न पुगेको थियो। चौंथो खेलमा कमजोर मानिएको मालदिभ्सलाई १० विकेटको जित निकाल्न सफल हुंदा तेश्रो स्थानका लागि अन्तिम खेल पाकिस्तानसँग खेल्दा २ विकेटले पराजित हुन पुगेको थियो। उक्त प्रतियोगितामा नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल (६ विकेट) ले सर्वाधिक विकेट लिन सफल भएका थिए।
नेपाली क्रिकेट टिम
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल क्रिकेट टिमले हालको अवस्थामा सर्वाधिक सफल लेग स्पीनर सन्दिप लामिछानेलाई गुमाउने छ। लामिछाने आंखाको उपचार तथा रेस्टका लागि टिमबाहिर छन्। निरन्तर बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टिमको लक्ष्य स्वर्ण नै रहेको बताईरहँदा नेपाली क्रिकेट टिमको ब्याटिङ पक्ष भने सदा झैं फितलो रहेको सर्वस्वीकार्य एवं जगजाहेर नै छ। यसो त, मल्लले आफ्नो कप्तानीमा देशलाई पहिलो स्वर्ण जिताउने राम्रो अवसर पाईरहँदा उनीबाट केही कप्तानी पारीको अपेक्षा गर्न सकिन्छ। कमजोर मानिएको प्रतिद्वन्दी मालदिभ्ससँग सबै अभ्यास खेल क्लीन स्वीप गरे पनि स्वर्णको चुनौती अधीक नै हुनेछ। आशा लाग्दा मिडियम पेशर तथा युवा खेलाडी रशिद खानका लागि भने यस प्रतियोगिता आफ्नो करिअरको टर्निङ प्वाइन्ट बन्न सक्छ। नेपाली टिमस् ज्ञानेन्द्र मल्ल ९कप्तान०, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी, राशिद खान, रोहित कुमार पौडेल
बलिया प्रतिद्वन्दी
नजमुल हुसेन सान्टोको कप्तानीमा रहेको बंगलादेश, घरेलु क्रिकेट टिमका लागि टाउको दुखाईको विषय बन्न सक्छ। बंगलादेशका तर्फबाट राष्ट्रिय टोलीमा डेब्यु गरिसकेका सौम्य सरकार, मोहम्मद नयीम र अफीफ हुसेनजस्ता खेलाडी रहेको टिममा २३ वर्ष माथिका सौम्य सरकारसहित बायाँ हाते स्पीनर तनबीर ईस्लाम र दायाँ हाते ब्याट्सम्यान यासीर अली छन्। यस्तै हालै भारतसँगको टेस्टमा घाईते बनी डेब्युबाट चुकेका युवा ब्याट्सम्यान सैफ हसन नेपाली बलरमाथि हावी बन्न सक्छन्।
यस्तै चरिथ असलंकाको कप्तानी रहेको श्रीलंकाली टोली अनुभवी बलर कामिन्डु मेन्डिसको आगमनले बलियो बनेको छ। ईंग्ल्यान्डविरुद्द टि२० अन्तराष्ट्रियमा डेब्यु गरेका मेन्डिस उनै बलर हुन् जसले न्युजिल्यान्डको यु१९ विश्वकपमा दुवै हातले बलिङ गरेर सनसनी मच्चाएका थिए। उनले दक्षिण अफ्रिकाविरुद्द एकदिवसीयमा डेब्यु गरिसकेका छन्।
नेपालका लागि बंगलादेश र श्रीलंका दुवै बलिया प्रतिद्वन्दी रहनेछन् भने भुटान र माल्दिभ्सविरुद्द जीतको अपेक्षा गर्न सकिनेछ।
समग्रमा, नेपाली क्रिकेटको ूस्वर्ण लक्ष्यू त्यति सहज नभए पनि दिनको अन्त्यमा नेपालले उत्कृष्ठ ब्याटिङको लय समातेमा असम्भव भने पक्कै पनि मान्न सकिंदैन। निश्चय पनि यस स्वर्ण यात्रामा साथ दिनका लागि खेलको १२औं खेलाडी बनेर घरेलु दर्शकले त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपाली क्रिकेट खेलाडीको साथ भने अवस्य दिनेछन्।
नेपालको समूह चरणको म्याच तालिका
नेपाल विरुद्ध श्रीलंका, मंसीर १७ गते, विहान ११ बजे
नेपाल विरुद्ध भुटान, मंसीर १९ गते, विहान ९ बजे
नेपाल विरुद्द मालदिभ्स, मंसीर २० गते, १ बजे
नेपाल विरुद्ध बंग्लादेस, मंसीर २१ गते, विहान ११ बजे
(दिपेश पन्डित, काठमाडाैं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।