काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन्। बिहीबार साँझ अवलोकनपछि उनले आफू प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुसी लागेको बताए।
अध्यक्ष दाहालले भने, 'मैले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएको बखत यही परिसरभित्रै संरचना बनाउन खोजेपनि विविध कारणले रोकिएको थियो, पछि हाम्रै पार्टीको नेतृत्वमा सरकार बनेको बेला यो संरचना बन्ने प्रक्रिया अगाडि बढ्यो।'
स्थिरता र विकसित नेपालको परिकल्पना गरेर रगत बगाएका सहिद तथा बेपत्ता व्यक्तिको सपना साकार भएको महसुस स्मारकमार्फत आफूले अनुभूति गरेको बताउँदै उनले स्मारकलाई अझ विस्तार र सुदृढ बनाउनुपर्नेमा जोड दिए।
अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आएका सबै पाहुना र अन्तर्राष्ट्रिय व्यक्तित्वले नेपाल आएको बेला हेर्नै पर्ने संरचनाको रुपमा यसलाई विकास गरिनुपर्ने बताउँदै गणतन्त्रका निम्ति निकै ठूलो आन्दोलनको नेतृत्व आफूले गरेको तथा हजारौँको बलिदान र लाखौंको योगदानपछि नेपालमा गणतन्त्र आएकाले यो स्मारकको महत्व ऐतिहासिक रहेको धारणा व्यक्त गरे।
३५ रोपनीमा रहेको सो स्मारक गणतन्त्र स्थापनाका लागि भएका सहिद, बेपत्ता तथा घाइतेको सम्झनामा निर्माण गरिएको हो। निर्माण कम्पनीका परियोजना निर्देशक रोशन श्रेष्ठले रु ४० करोड लगानीमा स्मारक तयार भएको जानकारी दिए।
२०६९ मंसिर २२ गते स्मारक निर्माणसम्बन्धी ठेक्का भएको थियो। केही दिनमै स्मारकको जिम्मा सरकारलाई दिइने परियोजना निर्देशक श्रेष्ठले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।