काठमाडौं- निकै चर्चा पाएको कास्की–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत पाइन्। ४५ हजार ५ सय ४६ कूल मत खसेको यो क्षेत्रमा ४४ हजार ९ सय ४६ मत सदर भएका थिए। सदर मतका आधारमा उनको मत झन्डै दुई प्रतिशतमात्रै हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उनको जमानत जफत भएको छ। विश्लेषक सरिता तिवारीका शब्दमा त्यति संख्याको मत साझा पार्टीका निम्ति ‘शर्मनाक’ अवस्था हो।
अन्य दलले जस्तै साझाले पनि कास्की २ लाई प्रतिष्ठाको विषय बनाएको थियो। तर उसको उपस्थिति निकै कमजोर देखियो। ०७४ सालको निर्वाचनमा विवेकशील साझाका तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए। त्यतिबेलाको एकीकृत स्वरुपमा रहेका साझा र विवेकशील पार्टीले अहिलेको एकीकृत मत एक हजार १९ छ। कास्की २ मै उम्मेदवार बनेकी विवेकशीलकी जमुना शर्माले ७७ मत पाएकी छिन्। शर्माले पाएको मत सदर मतको १ प्रतिशतभन्दा पनि कम हो।
सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ को अवस्था पनि साझा र विवेकशीलको जस्तै छ। लामो समय स्वतन्त्र मधेसको अभियान चलाएका राउत सरकारसँग सहमति गरी मूलधारको राजनीतिमा आएका थिए। उनकै नेतृत्वको यो पार्टी पनि चुनावअघि निकै सक्रिय थियो। तर मत परिणाम खासै उत्साहजनक आएन। अर्थात्, चासोपूर्वक हेरिएको उपनिर्वाचनमा यस्ता दललाई मतदाताले खासै रुचाएको देखिएन।
मुख्य प्रतिस्पर्धी पनि बनेनन्
चलिरहेको राजनीति र यसका अनेक प्रवृत्तिलाई विकल्प दिने भन्दै आएका र चर्चा पनि पाएका यी तीनै दलको उपस्थिति उपनिर्वाचनमा सुखद रहेन। उपनिर्वाचनमा भाग लिएका ठाउँहरुमा उनीहरु कतै पनि मुख्य प्रतिस्पर्धी बन्न सकेनन्। जस्तो, कास्की २ मा साझा र विवेकशीलका उम्मेदवार क्रमशः पाचौं र आठौं स्थानमा परेका थिए।
मधेसका केही वडा र पालिकामा प्रतिस्पर्धा गरेको जनमत पार्टीका उम्मेदवार प्रायः ठाउँमा चौथो वा पाँचौं बनेका छन्। उनीहरु सबै तहमा उत्तिकै कमजोर देखिएका छन्।
विजयी उम्मेदवारको अनुपातमा यी तीनै दलका उम्मेदवारले पाएको मत निकै कम छ।
जस्तो, भक्तपुरमा ३२ हजार ३७ मत खस्दा ३१ हजार ५ सय ९२ मत सदर भएको थियो। साझा पार्टीका उम्मदवार सुरज प्रधानले जम्मा ३ सय ९३ मत पाए। उनी पाचौं स्थानमा रहे। विजयी उम्मेवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत पाएका थिए।
प्रदेशसभाअन्तर्गत बाग्लुङ २९ख० मा विवेकशीलका तर्फबाट उम्मेदवार बनेका सन्तोष भण्डारीले २८ मत पाए। यहाँ २१ हजार ३ सय ९६ मत खस्दा २० हजार ९ सय ७१ मत सदर भएको थियो। यहाँ विजयी उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले ११ हजार २ सय ३५ मत पाएका छन्।
मोरङको धनपालथान गाउँपालिका– २ मा भएको उपनिर्वाचनमा ३ हजार २ सय ८४ मत खसेर ३ हजार २ सय ४६ मत सदर भएको थियो। त्यहाँ जनमत पार्टीले जम्मा ९ मत पाएको छ। त्यस्तै, सर्लाहीको हरिपुर्वा गाउँपालिका १ मा भएको उपनिर्वाचनमा १ हजार ९३ मत खसेर १ हजार ७८ मत सदर हुँदा जनमत पार्टीले जम्मा ५२ मत पायो। महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको निर्वाचनमा कुल १२ हजार ३ सय ९ मत सदर भएकोमा जनमत पार्टीका उम्मेदवार अंजनीदेवी मण्डलले जम्मा ६ सय १६ मत पाइन्।
मतदातासँग नजोडिनुको परिणाम
निर्वाचनमा कम मत आउनु भनेको सो दल वा उम्मेदवारलाई पत्याउने जनमत कम हुनु हो। पत्याउनका लागि मतदाताले दलका बारेमा कम सुन्नु वा विश्वास गर्नु हो। दल र उम्मेदवारका कुरा मतदातासमक्ष पुर्याउन कार्यकर्ता चाहिन्छन्। आम सञ्चारबाट सुनिएका र सुनाएका विषयभन्दा कार्यकर्ताले मतदाताको जिज्ञासाको उत्तर दिँदै चित्त बुझाउँदा बढी प्रभावकारी हुन्छन्। तर नयाँ र विकल्प भनिएका दलसँग कार्यकर्ता नै थिएनन्। जसले गर्दा ती दल र उम्मेदवार मतदातासँग जोडिनै सकेनन्। यसैलाई महसुस गरेर हुनुपर्छ साझाले जनतासँग जोडिन ‘साझा भुइँयात्रा’ चलाउने भएको छ।
अर्कोतिर, मतदातासँग जोडिनलाई उनीहरुलाई बताउन केही नयाँ विषय हुनुपर्छ। नयाँ मुद्दा हुनुपर्छ। वा कुनै अभियानको नेतृत्व गरेको हुनुपर्छ। तर, यी दलमा यस्तो केही विशेषता छैन। न भन्नलाई केही नयाँ कुरा छ, न जनताले विश्वास र आशा गर्न केही गरेको देखिएको छ। यस्तो अवस्थामा मतदाताले किन विश्वास गर्ने भन्ने प्रश्न स्वभाविक हो।
नयाँ पार्टीको साझा विशेषता भनेको उनीहरुले पुराना दललाई गाली गर्ने गरेका छन्। धेरै कुरा पुरानाले गर्दा बिग्रेको विषयमा अधिकांशको सहमति देखिन्छ। तर, अवस्था त्यस्तोमात्रै होइन, जसरी प्रचार गरिन्छ। पुरानोलाई गाली गर्न अर्को दलको आवश्यकता परेको होइन। त्यही कुरा नयाँ दलले नबुझेजस्तो देखिन्छ।
‘पुरानो पार्टीको आलोचनामा जति मुखर सुनिए। आफ्नो संगठनात्मक र वैचारिक संरचना निर्माणमा त्यति सशक्त देखिएनन्,’ तिवारी भन्छिन्, ‘परिस्थितिलाई क्यास गर्न सकिन्छ कि भन्ने च्याखे राजनीति देखियो।’
अहिलेका मूलधारका पार्टी र तिनका नेताहरुले विगतमा राजनीतिक परिवर्तनका लागि कठोर संघर्ष गरेका छन्। अहिले त्यो संघर्षको ब्याज खाइरहेको आरोप पनि लाग्ने गर्छ। तर, त्यसको विकल्प खोजिरहेका दल र नेताको पनि विगत केलाउनु स्वभाविक हुन्छ। जस्तो कि, हिजो मधेसकेन्द्रित दलहरुले संघर्ष गरिरहँदा सीके राउत र उनको संगठन के गरिरहेको थियो, यी र यस्तै प्रश्नको जवाफ नयाँ दलहरुले दिन सकेका छैनन्।
नयाँ मध्येको एक साझा पार्टीलाई त पछिल्लो संघर्षले ल्याएका परिवर्तनप्रति अनुदार भएको आरोप लाग्ने गरेको छ। ‘पुराना दललाई सच्याउनु एउटा प्रश्न हो तर भएको परिवर्तन नै गलत थियो भन्ने ठाउँमा पुग्नु भनेको त पुरै पश्चगामी भयो,’ तिवारी भन्छिन्।
अर्कोतर्फ, नयाँ दलहरुले निर्वाचन भएका सबै ठाउँमा उम्मेदवारी नै दिएनन्। यसले उनीहरु मुख्य र ध्यान दिनलायक पार्टी नै होइनन् भन्ने देखायो।
के भन्छन् नयाँ दल?
चुनावमा पराजित भएपछि ती दलका नेताहरुले मतदातालाई नै आफ्नो कुरा बुझाउन नसकिएको प्रतिक्रिया दिएका छन्। चुनावी परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आएका ती पार्टीका नेताहरुले मतदाताको विवेकमाथि नै प्रश्न उठाएका छन्।
‘मत परिणामले व्यापक भ्रष्टता, अक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ,’ साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले लेखेका छन्।
सो पार्टीद्वारा जारी विज्ञप्ति केही सन्तुलित छ तर अन्य पार्टीलाई आरोप लगाउन भने छाडेको छैन। यद्यपि, उसले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी(कमजोरीको समीक्षा गर्नु पर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको बताएको छ।
विवेकशीलका अध्यक्ष मिलन पाण्डेले उपनिर्वाचनले आफूलाई थप मेहनत गर्नुपर्ने र आफूहरु जसरी चलेका थियौं, त्यसरी अब नचल्ने भन्ने स्पष्ट सन्देश आएको बताए। उनले आफूहरुले गम्भीर समीक्षा गर्ने र अगाडिको कार्यदिशामा थप प्रष्टताका साथ अघि बढ्ने बताए।
पाण्डेले अब अरु पार्टीलाई गालीभन्दा पनि आफूलाई सुधार गर्नेमा बढी ध्यान दिने बताए। ‘हामीले गाली गरेको कुरामात्रै बढी भाइरल हुन्छ। खासमा हामीले गाली पनि गरेका हुन्छौं, हाम्रो योजना पनि भन्छौं। तर, भाइरल भने गाली गरेको विषयमा बढी हुने गरेको छ,’ उनले भने, ‘अब भविष्यको योजनालाई पनि भाइरल बनाउनुपर्छ।’
जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले भने बैशाखमा गठन भएको पार्टीले मंसिरको चुनावमा अहिलेको जति मत ल्याउनु सुखद भएको बताए। उनले पार्टीका अन्य आन्तरिक समीक्षा भने बैठक बसेर गर्ने बताए। अन्य पार्टीले चुनावमा पैसा खर्च गरे पनि आफूहरुले नगरेको उनको दाबी छ। ‘जहाँ पैसाको खोलो बगेको छ। त्यहाँ कसैलाई एक कप चिया पनि नखुवाइकन यति मत पाउनु भनेको आफैंमा ठूलो कुरा हो,’ सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।